डा. उपाध्याय भारतको प्रतिष्ठित अवार्ड ‘दादा साहेव फाल्के’ द्वारा सम्मानित


विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा. डीआर उपाध्यायलाई भारतको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्ड २०२२ प्रदान गरिएको छ । आइतबार मुम्बईमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई यो अवार्ड अर्पण गरिएको हो ।

भारतमा दादा साहेव फाल्के अवार्ड एउटा भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ भने अर्को श्री दादा साहेव फाल्के इन्टरनेशनल अवार्ड फिल्म फाउण्डेशन र श्रीडिएसपी फिल्म प्रोडक्सनले प्रदान गर्दै आएको छ । डा. उपाध्यायलाई फिल्म फाउण्डेशनले अवार्ड प्रदान गरेको हो ।

भारतले प्रदान गर्ने यो अवार्ड जति प्रतिष्ठित मानिन्छ त्यति नै फाउण्डेशनले प्रदान गर्ने अवार्डलाई पनि मानिन्छ । डा. उपाध्यायले सो अवसरमा आफूलाई अवार्ड प्रदान गरिएकोमा आयोजकलाई धन्यवाद दिँदै छोटो मन्तव्य राख्नुभएको थियो । यो अवार्डले आफूलाई थप क्रियाशिल बनाउने उहाँले बताउनुभयो ।

डा. उपाध्यायका गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित ११० विश्व रेकर्ड कायम छन् । कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता-दर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् भने १५औं उपन्यास प्रकाशनको अन्तिम तयारीमा छ ।