गीतकार अर्जुन भट्टराईले छोरीको जन्मदिनमा भिडिओ सहितको गीत उपहार दिए l

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गीतकार/गायक अर्जुन भट्टराईले आफ्नी छोरी आकृति भट्टराईलाई जन्मदिनमा म्युजिक भिडिओ उपहार दिएका छन् l छोरी आकृतिको स्वरमा रहेको गीत ‘फूलबुट्टे जामा’ को भिडिओ समेत छायाङ्कन गरी गीतकार/गायक भट्टराईले जन्मदिनको अवसर पारेर ३ दिन अघि रिलिज गरेका छन् l

अनामनगरस्थित एशियन पब्लिक स्कूलमा कक्षा १० मा पढिरहेकी आकृति बोली पनि राम्रोसँग नफुट्दैदेखि आफूले हार्मोनियम बजाउँदा बडो चाख मान्दै छेउमा आएर बस्ने गरेको कुरा अर्जुन भट्टराईले बताए l ‘अलि ठूलो हुँदै गएपछि मैले गाएको कपी गर्न थालिन्’ उनले भने l

आकृतिको गायन प्रतिभा केही हदसम्म भएपनि फक्रने श्रेय चाहिं ‘लकडाउन’ लाई दिन्छन् उनी l ‘अरुबेला त्यति समय नमिल्ने l लकडाउन सुरु भएपछि फुर्सदै फुर्सद हुन थाल्यो l म म्युजिकको रियाज गर्न थालें, छोरीले पनि मसँगै रियाज सुरु गरिन् l पहिला स्कूल विदा भएको बेला मेरा मित्र भानुभक्त ढकालसँग सिक्ने गरेकी थिईन् l लकडाउनमा नरहरि प्रेमीसँग पनि १ महिने अनलाइन कोर्स लिईन्’ अर्जुन भट्टराईले बेलिबिस्तार लाए l

२ दशक अघिदेखि सङ्गीत क्षेत्रमा क्रियाशील, वरिष्ठ संगीतज्ञ प्रकाश गुरुङ र गुरुदेव कामतका असल शिष्य अर्जुन भट्टराईद्वारा रचित गीत ‘पिरतीको बर्को तिमीलाई’ (चलचित्र शत्रुगते}, ‘जीवन जात्रा हो’ (टाइटल गीत-चलचित्र जात्रा), ‘चौंरीको छुर्पी’ (लोक), ‘आधा माया तिमी गर'(लोक) लगायत उनको स्वरमा रहेका ‘चामल केलाउन आउँछ ?’, कति राम्रो भनौं भने’, ‘तिम्रो बाटो भो बेग्लै’, ‘तिमीसँग हारें मैले’ आदि चर्चामा रहेका छन् l

छोरी आकृतिले गाएको गीत ‘फूलबुट्टे जामा’ गीतकार अर्जुन भट्टराईकै रचना हो भने यसमा लोकप्रिय सङ्गीतकार सरोज कोईरालाले सङ्गीत दिएका छन् l गीतमा कमल अधिकारीको सङ्गीत संयोजन र सन्तोष पौडेलको मिक्सिङ/माष्टरिङ रहेको छ l

गीतको भिडिओ प्रकाश भट्टको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको हो l भिडिओमा प्रकाश खड्काको सिनेम्याटोग्राफी र उत्तम कुमार कार्कीको सम्पादन रहेको छ l जसमा करिश्मा ढकालले प्रमुख पात्रको रुपमा अभिनय गरेकी छिन् l भिडिओमा गीतकार अर्जुन भट्टराई, सङ्गीतकार सरोज कोईराला र सङ्गीत संयोजक कमल अधिकारी लगायत विष्णु थापा, मुश्कान ओली, हरि अधिकारी र संजय पोखरेललाई समेत सहायक कलाकारको रुपमा देख्न सकिन्छ l

भिडिओ गायिका आकृतिकै आधिकारिक युट्युब च्यानल Akriti Bhattarai बाट सार्वजनिक भएको छ भने स्वतस्फुर्त रुपमा टिकटक समेत बन्न थालेकोले गीत तथा भिडिओले गायिका आकृतिलाई नयाँ पहिचान दिने छ भन्ने विश्वाश गर्न सकिन्छ l गीतले छोरी हुर्कंदै गएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने नानाथरिका मान्छे र त्यो परिवेशबाट दिक्क मानिरहेकी युवतीको मनोदशालाई यथार्थपरक ढङ्गमा केलाएको छ l