दोश्रो ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ कात्तिक २१ गते आयोजना हुने


गत असोजको पहिलो साता हुने भनिएको ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आगामी कात्तिक २१ गते आयोजना हुने भएको छ । यस अघि यो अवार्ड रशियन कल्चरल सेन्टरमा आयोजना हुने भनिएकोमा अब काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजन हुने कुरा आयोजक संस्था ‘क्वालिटी फिल्म्स्का अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् ।

यो अवार्डको गत भदौमा मनोनयन सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा असोजको पहिलो साता अवार्ड कार्यक्रमको आयोजना गरिने समेत घोषणा भएको थियो । तर आयोजक टिमका सदस्यहरु डेंगीबाट प्रभावित भएपछि त्यो बेला अवार्ड कार्यक्रम  स्थगित गरिएको थियो । प्राप्त जानकारी अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने भएको छ । चलचित्र, गीत, सङ्गीत, म्युजिक भिडिओ, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।

समारोहमा अवार्डसँगै विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय सम्मान पनि गरिने भएको छ । जस अनुसार ध्वनि सम्पादक डिका गुरुङलाई ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिने छ । तीन दशकभन्दा लामो समयदेखि ध्वनि सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई सम्मान गर्न लागिएको कुरा अध्यक्ष गुरुङले बताए । यस्तै यो वर्ष ‘क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिने पनि उनले जानकारी गराए । नेपाली चलचित्र तथा गीत सङ्गीतको विकाशमा पत्रकारिताबाट क्षत्रीले निरन्तर योगदान दिएका कारण उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको गुरुङले बताए । गतसाल यो पुरस्कार पत्रकार तुलसी गिरी ‘भावुक’ लाई प्रदान गरिएको थियो ।

‘कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत सङ्गीत तथा चलचित्र उधोगलाई माथि उठाउन दुई वर्ष अघिबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’को आयोजना थालिएको हो । २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले यस अघि नै छनोट गरेर सार्वजनिक गरिसकेको छ ’ अध्यक्ष गुरुङले भने ।