तारा अधिकारीको परिकल्पना एवं निर्देशनमा लघु चलचित्र ‘धुकधुकी’

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गीतकार तारा अधिकारीको परिकल्पना एवं निर्देशनमा  रहेको लघु चलचित्र ( Short Movie) ‘धुकधुकी’ सार्वजनिक भएको छ l चलचित्रकी परिकल्पनाकार/निर्देशक अधिकारीको अफिसियल युट्युब च्यानल Sunaulo Tara Motion Pictures बाट आज साँझ यो चलचित्र बजारमा आएको हो l यस लघु चलचित्रमा समावेश गीतमा किशोर विश्वकर्माको सङ्गीत/स्वर रहेको छ l जसमा दीपकराज विश्वकर्माले मिक्सिङ्/माष्टरिङ गरेका छन् l

वैदेशिक रोजगारले निम्त्याएको पारिवारिक पीडालाई जीवन्त र मार्मिक ढङ्गमा प्रस्तुत गरिएको १९ मिनेट ४४ सेकेण्डको यस चलचित्रमा परिवारको सुख खोज्दै अर्थोपार्जनका लागि घरका जवान छोराहरु विदेशतिर लाग्दा कल्कलाउँदो उमेरका पत्नी र वृद्ध अवस्थाका बाबुआमामाथि कस्तो भावनात्मक बज्रपात भएको हुन्छ भन्ने यथार्थलाई गहिराईबाट उजागर पारिएको छ l पढाइको सिलसिलामा होस् या वैदेशिक रोजगारीको कारण, हिजोआज बुढाबुढी कसरी विक्षिप्त अवस्थामा एकांकी जीवन जिउन बाध्य हुँदै गईरहेका छन् भन्ने कुरा यस चलचित्रले प्रस्तुत गरेको छ l वियोगान्त कथामा आधारित यस चलचित्रले स्वदेशमै केही गरौँ भन्ने सन्देश समेत दिएको छ l

चलाचितार्मा सुभाष गजुरेल, हिउँबाला गौतम, किशोर विश्वकर्मा, वासुकला मैनाली, अन्सुल डांगी, अनुजा अधिकारी, युवराज घिमिरे र बाल कलाकार रियान्सी थापाले अभिनय गरेका छन् l  जसमा शिव ढकालको सिनेम्याटोग्राफी, नहकुल खड्काको सम्पादन, प्रदिप श्रेष्ठको पार्श्व सङ्गीत र नवीन श्रेष्ठको डबिङ/मिक्सिङ रहेको छ  l

गीतकारको रुपमा सङ्गीत क्षेत्रमा उदाएकी सर्जक तारा अधिकारीले यसअघि म्युजिक भिडिओको निर्देशन तथा भिडिओमा प्रमुख पात्रको रुपमा अभिनय गरिसकेकी छिन् भने लघु चलचित्रको निर्देशन भने यो पहिलो हो l ‘धुकधुकी’ मार्फत उनले आफूलाई फरक क्षमतामा स्थापित गरेकी छिन् l जसलाई कथानक चलचित्र निर्देशनको प्रारम्भिक पाइलाको रुपमा पनि हेर्न सकिन्छ l