विदेशी चलचित्रको माध्यमबाट नेपालको भाषा र संस्कृतिमाथि अतिक्रमण भईरहेको चलचित्रकर्मीहरुको ठहर


‘परिवर्तन नेपाल’को आयोजनामा ‘नेपाल चलचित्र निर्माता सङ्घका नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं सम्मान कार्यक्रम’ सम्पन्न भएको छ ।

बुधबार बागबजारस्थित होटल हार्दिकको सभाहलमा आयोजित सो कार्यक्रम अग्रज कलाकार बसुन्धरा भुसालको सभापतित्वमा सम्पन्न भएको थियो l कार्यक्रममा ‘परिवर्तन नेपाल’का अध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले स्वागत मन्तव्य राख्दै विदेशी चलचित्रको माध्यमबाट नेपालको भाषा र संस्कृतिमाथि अतिक्रमण भइरहेको कुरा बताएका थिए ।

यसैगरी नेपाल चलचित्र निर्माता सङ्घका निवर्तमान अध्यक्ष आकाश अधिकारीले चलचित्र जगत भनेको चलचित्रकर्मीहरुको परिवार भएको र परिवारमा आइपर्ने समस्या समाधान गर्न परिवारका सदस्यहरु नै एकजुट भइ लाग्नु पर्ने राय व्यक्त गरे । निर्माता सङ्घका नव निर्वाचित अध्यक्ष नवल खड्काले देशको संस्कृति र  भाषामाथि आँच आउने कुनै पनि कुरा सह्य नहुने बताउँदै कुनै पनि चलचित्र वा निर्माताले संविधान, ऐन र नियमको उल्लङ्घन गर्न नपाउने धारणा व्यक्त गरेका थिए ।

समारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्रसंग सम्बन्धित सङ्घ संस्थाहरू संख्यामा धेरै हुन थाले पनि समस्याहरु पनि एकीकृत नभइ छरिएर आउन थालेको छ भन्दै एकिकृत रुपमा आवाज उठाउन चलचित्र सम्बन्धि सङ्घ संस्थाहरूको एउटा महासङ्घको आवश्यकता रहेको औंल्याए भने चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुलीले चलचित्रकर्मिहरु आफैँ भ्रम फैलाउनतिर लाग्ने गरेको र त्यस्ता कार्यको परिणाम नकारात्मक नै हुने विचार व्यक्त गरे । सभापतिको आसनबाट बोल्दै बसुन्धरा भुसालले महासङ्घको आवश्यकता विगतमा पनि महसुस गरिएको तर केही कारणवश गठन हुन नपाएको बताउँदै अहिले यसतर्फ गम्भीर भएर कदम उठाउनु पर्ने कुरामा जोड दिइन् ।

वधाई तथा सम्मान समारोहमा नेपाल चलचित्र सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थ, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, कलाकार सङ्घका कार्यवाहक अध्यक्ष सानु ताम्राकार, प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष शान्तिप्रिय, अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर र प्रथम नेपाली चलचित्र ‘आमा’की अभिनेत्री भुवन चन्द र विशिष्ट कलाकार चैत्य देवी लगायत चलचित्रकर्मी एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम चलचित्रकर्मी माधव खरेलले सञ्चालन गरेका थिए l