शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक


वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा विश्वकीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा `माया रानीलाई´ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । सङ्गीतकार श्रेष्ठ भन्छन्- ‘शताब्दी पुरुषसँग साङ्गीतिक सहकार्यको क्रममा वि.सं. २००१ मा उहाँले लेख्नुभएको गीत ‘माया रानीलाई’ ७८ वर्षपछि रेकर्ड गरी हामी भिडिओ निर्माणको क्रममा थियौँ । उहाँ अस्वस्थ हुनुभएकोले हामी शीघ्र स्वास्थ्यलाभको कामना गरेर बसेका थियौँ । तर, दुर्भाग्य ! गीत रिलिज हुन नपाउँदै हिजो उहाँको असामयिक निधन भयो । हामी स्तब्ध भयौँ । उहाँप्रति हार्दिक श्रद्धासुमन !’

‘वाङ्मय शताब्दी पुरुषको गीतको यो पहिलो भिडिओ हो । श्रब्यदृष्य तयार गरेर उहाँलाई देखाएपछि सार्वजनिक गर्ने इच्छा हुँदाहुँदै एउटा सपना अधुरै रह्यो’ सङ्गीतकार श्रेष्ठले भने । राज पोखरेल र प्रकाश अर्यालको छायाङ्कनलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने हेमप्रभास अधिकारीले निर्देशन गरेका छन् । भिडिओ गोल्डेन क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।