बुढा नेतालाई खबरदारी गर्दै गीतकार सुवेदी र गायक सीडी विजय


गीतकार प्रकाश सुवेदीको शब्द र गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत/स्वरमा जन-जागरण भाव बोकेको गीत `छोड्देऊ पद कटेसी सत्तरी´ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ सृजना र सेरोफेरो नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गायनमा भूषण खतिवडाले समेत साथ दिएको उक्त गीतको सङ्गीत संयोजन साहस शाक्यले र लिरिकल भिडिओ वर्ल्ड कभर मिडियाका लोकेश भाटले तयार पारेका हुन् ।

२०४६ साल पछि नेपाली राजनीतिमा सत्ता र दलहरुको नेतृत्व जहिले पनि बृद्ध र अशक्त नेताहरुले गर्दै आएका छन् । घाटमा नपुग्ने बेलासम्म सत्ता र कुर्सीमोहमा चुम्बक झैँ टाँस्सीरहने नेतृत्वलाई प्रकाशले गीत मार्फत `सन्ततिले धिक्कार्लान् फेरि छोड्देऊ पद कटेसी सत्तरी´ भन्दै पद छोड्न र पछिल्ला पिंढीलाई मार्ग प्रशस्त गर्न ससम्मान अनुरोध गरेका छन् ।

कर्मचारी हुन् वा शिक्षक ५६ वर्ष पुगेपछि निवृत्तिभरण दिइन्छ । ७० कटेका बृद्ध बा-आमालाई अब तपाईँहरु काम गरेर खान सक्नुहुन्न आरामको जीवन जिउनुहोस् भनेर सम्मानपूर्वक बृद्धभत्ता दिइने देशमा उमेरले ७० कटेकै नेताहरुले दल र सत्ताको नेत्रृत्व गरिरहने परिपाटीप्रति गीतकार प्रकाशको चर्को आक्रोश रहेको छ ।

उमेर र अनुभवले परिपक्क व्यक्तिले राजनीतिक नेतृत्व गर्न सक्छ । यो कुरा व्यवहारिक रूपमा यथार्थ भएता पनि पद र सत्ता आफ्नो नेतृत्वमा आएपछि आजीवन मेरै हो र मैले यो पदलाई घाटसम्मै धारण गरिरहनुपर्छ भन्ने सोचले नेपाली राजनीतिमा जरा गाडेर बसेको छ । आफूले छोड्दा आकाश नै खस्छ या डुङ्गा नै डुब्छ भन्ने सोच पालेकाहरुले सत्तामा टाँस्सिएर देशलाई के दिए त ? यसलाई मलजल गर्ने अरु कोही नभएर गुटको नेतालाई देवत्वकरण गर्ने पछिल्ला पुस्ताका नेता र कार्यकर्ता नै हुन् ।

हुन त राष्ट्रिय राजनीतिको नेतृत्व युवापुस्ताले गर्नुपर्छ भनेर युवानेता भनिने वृत्तमा बहसका रूपमा पटक पटक प्रसङ्ग नउठेको पनि हैन । बाहिर चर्का चर्का आवाज उठाए पनि भएको पद र मौका गुम्छ कि भनेर आफ्नो नेतृत्वसँग चुप लागेर बस्नुपर्ने बाध्यता अहिलेका युवानेताहरुसँग छ । अबको राजनीतिमा पुस्तानतरण हुन जरुरी छ भन्दै आवाज उठाउनेहरु नै ७० को नजिक पुग्न थालिसके । सत्ता र दल चलाउन बुढो हुनैपर्ने र एकपटक नेतृत्व पाएपछि शारीरिक र मानसिक रूपमा जतिसुकै कमजोर होस् छोड्दै नछोड्ने गलत परिपाटीको प्रकाशले गीत मार्फत मिहिन तरिकाले चिरफार गरेका छन् ।

प्रकाशले बृद्ध उमेर भनेको दिनभरि चौतारीको हावा खाएर साँझ बार्दलीमा बास बस्ने हो भन्दै गीतमा भन्छन् `चौतारीको हावा मीठो बार्दलीको बास आफ्नै हातले टिप्न पनि मुश्किल छ गाँस।´ अहिलेका हाम्रा सम्माननीय प्रधानमन्त्री र आगामी चुनाव पछि प्रधानमन्त्रीको आकाङ्क्षीहरुको लाइनमा बसेकाहरुको हालत गीतमा भने जस्तै छ । युवा नेताहरुले जति पुस्तान्तरणका कुरा गरे पनि आफ्नो गुटको नेतृत्व गर्नेसँग प्रष्ट कुरा राख्न सक्दैनन् । यदि राखिहाल्यो भने कि त पदबाटै हात धुनुपर्छ कि चुनावमा टिकट पाउँदैनन् ।

प्रकाशको गीत यसप्रकार छ-
‘चुम्बकले झैँ सत्ताले तान्ने,
भेट्यो कि त छोड्नै मन नमान्ने l
सन्ततिले धिक्कार्लान् फेरि,
छोड्देऊ पद कटेसी सत्तरी ll  

बस बरु जपेरै हरि,
छोड्देऊ पद कटेसी सत्तरी l
दाँत सबै झरिसके फुल्यो कपाल दाह्री,
लौरो टेक्दै हिँड्ने बेला नबोकाउँ भो भारी ll  
चौतारीको हावा मीठो बार्दलीको बास,
आफ्नै हातले टिप्न पनि मुश्किल छ गाँस lll    

कर्मचारी शिक्षकमाथि उमेरको हद,
नेताको त घाटसम्म काँ छुट्छ र पद l
हत्तपत्त जो कसैले कुर्सी छुनै पाउन्न,
छुन पाउँछ जब अनि छोड्नै मन लाउन्न ll  

तीर्थयात्रा, चार धाम, मेलापर्व धाउनु,
हरे कृष्ण हरे राम जप्दै भजन गाउनु l
मीठो चोखो घरमै खानु फलफूलको रस,
होटलतिर धाउन भन्दा सतसङ्ग तिर पस ll   

युवा पनि तिम्रै पाऊ मोल्दै बुढा भए,
तर्साउँछौ, धम्क्याउँछौ बिरुद्धमा गए l
हलो जोत्न खानी खन्न युवाहरु चाहिने,
नेताले चाहिँ बाँचुञ्जेल सत्ता च्याप्न पाइने ll
कस्तो होला सत्ताको स्वाद,
त्यही स्वादले देश भयो बर्वाद lll