शपिङ मलको भीडमा डा.डी.आर. उपाध्यायको नयाँ भीसीडी एल्बम ‘ईशा’ सार्वजनिक


बुधबार काठमाडौंको कमलापोखरीमा रहेको अति व्यस्त शपिङ मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रसङ्ग थियो मलमा सपिङ गर्न आएका सयौं मान्छेहरूको भीडमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायको नयाँ एल्बम ‘ईशा’ सार्वजनिक कार्यक्रम ।

मलमा ग्राहकको भिडभाडबीच गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा डा. उपाध्ययाको ४५ वटा गीतको भिडिओ कलेक्सन रहेको एल्बम ‘ईशा’ लोकार्पण गरिएको छ । प्रमुख अतिथि देवकोटासहित सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, भोला अधिकारी, सुभाष प्रधान, निरज दाहाल, रमेश थापा, यम बहादुर लगायतले सो एल्बमको लोकार्पण गरेका थिए ।

समारोहमा प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्रममा सिटी सेन्टरमा पनि पृथक तरिकाले सार्वजनिक गरेको बताउँदै उहाँलाई बधाई तथा शुभकामना दिएका थिए । देवकोटाले भने, ‘आफ्ना सिर्जनालाई सधैँ पृथक तरिकाले सार्वजनिक गर्नुहुने डा. उपाध्यायले ‘ईशा’ एल्बम पनि फरक ढङ्गले सार्वजनिक गर्नुभएको छ । उहाँले नेपाली गीत-सङ्गीतको फाँटमा अझ धेरै सिर्जना पस्किन सक्नुहोस् शुभकामना दिन चाहन्छु ।’

यस्तै कार्यक्रममा पत्रकार तुलसी गिरीले डा.उपाध्यायले फरक शैलीका कार्यले गर्दा नै यसअघि गीत-सङ्गीत तथा विविध क्षेत्रमा ११० कीर्तिमान राख्न सफल भएको बताउँदै उहाँलाई बधाई तथा शुभकामना दिए । यस्तै अन्य अतिथिले पनि नयाँ कार्यका लागि साथै उहाँको नयाँ एल्बमका लागि बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा कीर्तिमानी गीतकार डा.उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्बम पनि मलमा ठूलो संख्याका ग्राहकबीचमा विमोचन गरिएको बताए ।

गीत-सङ्गीत तथा विविध विधामा ११० विश्व कीर्तिमान कायम गरेका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरकफरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन् । उनकोको पछिल्लो उपन्यास कृति ‘कसुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।