पूर्वेली भाकाको अर्को सशक्त गीतमा तुलसी पराजुली र प्रविशा

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गायक तुलसी पराजुली र लोकप्रिय गायिका प्रविशा अधिकारीको स्वरमा रहेको पूर्वेली गीत ‘बैंसको सत्यानाश’ को भिडिओ सार्वजनिक भएको छ l अनामनगरस्थित ‘वर्ल्डवाइड इन्टरटेनमेन्ट क्रिएशन’ को कार्यालयमा सञ्चारकर्मीहरुको उपस्थितिमा आज आयोजित एक अनौपचारिक कार्यक्रममा सो म्युजिक भिडिओ सार्वजनिक गरिएको हो l

प्रसिद्ध गीतकार रमेश बि. जी. को शब्दरचना र तुलसी पराजुलीको लय सिर्जना रहेको यस गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् l माधव श्रेष्ठको कोरियोग्राफी र शिव बि. क. को निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा मेघराज मगरातीको सिनेम्याटोग्राफी र सम्पादन रहेको छ l जसमा धर्मेन्द्र आचार्य र ऋचा थापाले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् l भिडिओ आजै गायक पराजुलीको आधिकारिक युट्युब च्यानल Tulasi Parajuli मा अपलोड भएको छ l

SUBSCRIBE 👉

फिल्मी, आधुनिक, लोकदोहोरी, लोक लगायत फरक फरक विधाका कैयौं सुपरहिट गीतका सर्जक बी.जी. ले पुन: पूर्वेली लवज र शैलीको अर्को एउटा उत्कृष्ट गीतको रचना गरी आफ्नो विशिष्ट रचनात्मक शिल्प आम श्रोतामाझ राखेका छन् l पूर्वेली लोकगायनमा आफ्नो फरक पहिचानका साथ लामो समय अघिदेखि निरन्तर क्रियाशील गायक/सर्जक तुलसी पराजुलीले पूर्वाञ्चलको, खासगरी पहाडी भेकमा प्रचलित लोकलयको मिठासलाई यस गीतमा उतारेका छन् l गीत सुन्दै र भिडिओ हेर्दै जाँदा अनायासै सुनकोशी तीर, धनकुटा, भोजपुर र खोटाङतिरको सेरोफेरोमा पुगिन्छ l पहाड, वनपाखा र मेलापातको झझल्कोमा कतिखेर हराइन्छ पत्तै हुन्न l

पिंजडाभित्र माइतीको घरमा हुर्केको जोवन
माइतीको ईज्जत धानुं को बैंस मै भएँ दोमन
गीतमा हलक्क हुर्किएकी एउटी यौवनाको उमेरजन्य जोडीको चाहना, तनका काउकुती र रहरहरु अनि कसैलाई दिल खोलेर भन्न नसकिने पीडाहरु पोखिएका छन् l

म आफैं तम्से नि लै लै उत्ताउली भन्छन्
लैजाने कोई छैन हौ, लैजाने कोई छैन l
गीतले पितृ सत्तात्मक हाम्रो समाजमा नारी जाति आफ्ना रहर र चाहनाहरु मनभित्रै दबाएर बाँच्न कसरी विवश छन् भन्ने कुरा पनि बोलेको छ l यथार्थपरक, सामाजिक भाव बोकेर आएको यो गीत पनि गायक पराजुलीका अघिल्ला लोकप्रिय गीतहरुको अग्र लहरमा रहने छ र पराजुलीको साङ्गीतिक इतिहासमै यसले पनि एउटा गर्विलो स्थान बनाउने छ भन्ने अनुमान गर्न सकिन्छ l