कोइरालालाई देशमा भन्दा बिदेशमा सम्मानै सम्मान

सीतल आचार्य (कोरिया)

लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिबल’को १०औं वार्षिक उत्सव तथा जनरल कङ्ग्रेसले विश्वका ८५ भन्दा बढी देशबाट प्रतिनिधित्व गर्नेहरू मध्येबाट नेपालको प्रतिनिधित्व गर्ने आरसी कोइराला (रामचन्द्र) लाई FIDAF Best Activity Country Award 2021 बाट सम्मान गरेको हो ।

कोइरालाले विश्वको कला संस्कृतिको सम्बर्धन तथा प्रबर्धन गर्न खेलेको भूमिकाको आधारमा उक्त सम्मानबाट सम्मनित गरिएको हो । ३० वर्षभन्दा बढी समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वको कला संस्कृतिको सम्बर्धन तथा प्रबर्धन गर्दै आएका कोइराला विगत १० वर्षदेखि FIDAF को कार्य समितिको उच्च पदमा रही काम गर्दै आएका छन् ।

२४ वर्षअघि एभरेष्ट नेपाल कल्चरल ग्रुपको स्थापना गरी नेपाली कला संस्कृतिलाई विश्व जगतमा पुर्याउँदै आएका कोइराला FIDAF लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा आबद्ध रहँदै आएका छन् ।

नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्दै आएका कोइरालाले सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिँदै भनेका छन्– ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ र यस क्षेत्रमा अझै केही गर्न प्रेरित गरेको छ ।’

अन्तर्राष्ट्रिय मंचहरूमा विभिन्न सम्मानहरू पाइरहेका कोइरालाले आफ्नै देशबाट भने आफूले गरेका कार्यको योगदानको उचित कदर नभएकोतिर सङ्केत गर्दै व्यङ्ग्यात्मक शैलीमा भने ‘यहाँ देशको झण्डा बोक्नेलाई भन्दा पार्टीको झण्डा बोक्नेलाई सम्मान गर्ने परिपाटी छ । समयमा नै पार्टीको झण्डा बोक्न सकेको भए हरेक वर्ष प्रदान गरिने विभूषण र सम्मानबाट विमुख हुनुपर्ने थिएन, सायद !’