-तुलसी गिरी ‘भावुक’
केटा: देऊ न माया नम्बर
सन्चो छ कि छैन भनि सोधौं खबर
केटी: छैन नि हौ नम्बर
सन्चै छु म पर्या छैन सोध्न खबर
प्रसिद्ध गीतकार तारा अधिकारीको शब्दरचनामा रहेको प्रेमगीत ‘देऊ न माया नम्बर’ को भिडिओ सार्वजनिक भएको छ l गीतकार ताराकै अफिसियल युट्युब च्यानल Sunaulo Tara Motion Pictures बाट भिडिओ आजै डिजिटल बजारमा आएको हो l किशोर विश्वकर्माको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको यस युगल गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीले स्वर दिएका छन् भने फिल स्टुडियोका प्राविधिक कुमार के.सी.ले गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ गरेका हुन् l
गीतकार ताराकै परिकल्पना एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा बहुमुखी प्रतिभा किशोर विश्वकर्मा र रोशनी कार्कीले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l जसमा शिव ढकालको सिनेम्याटोग्राफी र नहकुल खड्काको सम्पादन रहेको छ l
गीतकारको रुपमा आफ्नो पहिचान स्थापित गरे पश्चात् सङ्गीत, अभिनय र निर्देशनमा समेत कदम अगाडि बढाईरहेकी सर्जक/कलाकार तारा अधिकारीको निर्देशनमा आएको यो दोस्रो भिडिओ हो l तथापि भिडिओ हेर्दा अनुभवी र परिपक्व निर्देशकले निर्देशन गरेझैं लाग्नुले के कुराको पुष्टि गर्छ भने गीतकार तारामा प्रचुर निर्देशकीय क्षमता रहेको छ र सङ्गीत क्षेत्रमा उनी एक बहुआयामिक प्रतिभाको रुपमा अघि बढिरहेकी छिन् l
रचनात्मक दृष्टिकोणले प्राय: भिन्न परिकल्पना र फरक प्रस्तुतिका साथमा देखिंदै आएकी ताराको अलग चिन्तन यस भिडिओमा पनि देख्न सकिन्छ l उनले डान्सिङ शैलीको गीतमा कलात्मक भिडिओ निर्माण गरेर नौलो स्वाद र मौलिकता पस्किएकी छिन् l
रोमान्टिक, प्रेमआकर्षण भावमा लेखिएको यस गीतमा महिला र पुरुषबीचको उमेरजन्य एक-अर्काप्रतिको आकर्षण र भित्रभित्रै मन परेको भएपनि नारीशूलभ लज्जा भावलाई मीठो शब्दशिल्पमा पोखिएको छ l भिडिओ संयोगान्त छ l तथापि निर्देशक ताराले सो प्रेमकथालाई नायकको फगत ‘सपना’ को रुपमा प्रस्तुत गरेर अर्को नौलो प्रयोग गरेकी छिन् l अर्थात्, जब नायक ब्युँझन्छ प्रेम कहानी उसको ‘सपना’ मात्र रहेछ भन्ने रहस्य दर्शकले थाहा पाउँछन् l पूर्व समयमा प्रकाशित तारा अधिकारीद्वारा रचित गीत ‘गुलेलीमा’ ले ७.४ मिलियन, ‘लुकिलुकी’ ले २.८ मिलियन र ‘लाली ओठैमा’ ले १.१ मिलियन भ्युज पाएका छन् l