गणेश श्रेष्ठ ‘अपेक्षा’ को शब्दरचनामा प्रेमिल भावहरु पोख्दै गायक रूप कुमार

-तुलसी गिरी ‘भावुक’

गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’ को शब्दरचना, महेश खड्काको सङ्गीत, पविधन राईको सङ्गीत संयोजन र रूप कुमार राईको स्वरमा रहेको गीत ‘देउराली डाँडा’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ केहीदिन अघि गायक रुप कुमारकै अफिसियल युट्युब च्यानल Rup Kumar Rai Official बाट डिजिटल बजारमा आएको हो l ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको यस गीतको मिक्सिङ/माष्टरिङ किशोर थापाले गरेका हुन् l गीतमा आफ्नी ‘हितैको माया’ को यादले मनमा बढेका बेचैनीहरु व्यक्त भएका छन् भने मन परेकी मायालुलाई आफ्नो बनाउने प्रेमिल चाहनाहरु पोखिएका छन् l

SUBSCRIBE 👉

    यस गीतको भिडिओ कुलमान राईको निर्देशनमा छायाङ्कन भएको हो l जसमा अभिनव खड्काको सिनेम्याटोग्राफी र मदन राईको सम्पादन रहेको छ l लोक आधुनिक शैलीको यो गीतलाई पूर्वेली लोकलयको मीठो महकले सिङ्गारिएको  छ l

केही हप्ता अघि गीतकार सङ्घ नेपालद्वारा आयोजित समारोहमा सर्जक ‘अपेक्षा’ को गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरु’ को एकसाथ विमोचन भएको थियो l उनको पहिलो गीतसङ्ग्रह ‘मनको आकाश’ ले गीतकार सङ्घ नेपालबाट २०७७ सालमा ‘वर्षगीत पुस्तक पुरस्कार’ समेत प्राप्त गरेको थियो l ‘बाटो हिँड्दा’ (२०७७) उनको पहिलो गीतिएल्बम हो l केहीवर्ष अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका सर्जक गणेश श्रेष्ठ ‘अपेक्षा’ प्रवासमा रहेर पनि नेपाली साहित्य, कला र संस्कृतिको प्रबर्धनमा निरन्तर लागिरहेका एक क्रियाशील युवा हुन् l