‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ असोज ७ मा आयोजना हुने, डिकालाई लाइफटाइम र डब्बुलाई पत्रकारिता पुरस्कार

-तुलसी गिरी ‘भावुक’

‘सर्जकलाई सम्मान गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आगामी असोज ७ गते आयोजना हुने भएको छ l म्युजिक, फिल्म र फेशन क्षेत्रलाई समेटेर आयोजना गरिंदै आएको यो समारोह यसपटक कमलपोखरीस्थित रशियन कल्चर सेन्टरमा दिनको १:३० बाट सुरु हुने कुरा आयोजक संस्था ‘क्वालिटी फिल्मस् प्रा.लि.’ का अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् l

प्राप्त जानकारी अनुसार अवार्ड समारोहमा वरिष्ठ सङ्गीतकर्मी डिका गुरुङलाई नगद रू. ५० हजार सहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिने छ भने वरिष्ठ कला पत्रकार डब्बु क्षेत्री नगद रू. २५ हजार सहित ‘सङ्गीत तथा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुने छन् l गतवर्ष ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ को नगद राशी १५ हजार ५ सय ५५ र ‘पत्रकारिता पुरस्कार’ को रकम ११ हजार १ सय ११ रहेकोमा यसपटक दुबैको रकम वृद्धि गरिएको कुरा उमेश गुरुङले जानकारी गराए l समारोहमा समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ५ जना महिला पनि ‘राष्ट्रिय नारी सम्मान’ बाट सम्मानित हुने कुरा थाहा भएको छ l

विभिन्न जातजाति, भाषाभाषी र भेगीय गीत-सङ्गीतलाई समेत समावेश गरी सर्वोत्कृष्ट सिर्जना र सर्जकलाई अवार्ड प्रदान गरिंदै आएको यस अवार्ड समारोहमा विगतमा झैँ यसपटक पनि समाजका भिन्न भिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिने कुरा थाहा भएको छ l

केहीदिन अघि अवार्डका लागि उत्कृष्ट ५ मा पर्न सफल ४० विधाका नोमिनिजहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो l अवार्ड प्राप्त गर्नका लागि भोटको समेत महत्वपूर्ण भूमिका हुने बताउँदै नोमिनेशनमा परेका सबै प्रतिस्पर्धीहरुलाई भोटका लागि समेत अध्यक्ष गुरुङले आग्रह गरेका छन् l