`बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे’ (स्मृतिग्रन्थ) को लोकार्पण

-प्रकाश सुवेदी

आधुनिक साहित्य परिषदको आयोजनामा साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित `बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे´ (स्मृतिग्रन्थ) लोकार्पण तथा रचनावाचन कार्यक्रम यही भाद्र २५ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो । बरिष्ठ साहित्यकार, भाषा विज्ञ मुकुन्दशरण उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथि प्रा. डा. भोलानाथ पोखरेल, चूडामणि गौतम, प्रा.डा. यादेवी ढकाल, प्रा.डा. गार्गी शर्मा हुनुहुन्थ्यो l साथै साहित्यकार लोकमणि पौडेल, एजिन्द्र प्रसाद लुईँटेल, ई गुणराज घिमिरे, कलाकार दीपाश्री निरौला, हेमचन्द्र घिमिरे, विष्णुप्रसाद पोखरेल लगायतका विशिष्ट व्यक्तित्वहरु अतिथिको रूपमा मञ्चासिन हुनुहुन्थ्यो । पछिल्लो समयका चर्चित गजलकार आँचल शर्माले सञ्चालन गरेको सो कार्यक्रमको सभापतित्व शिखरनाथ ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य दामोदर ढकालले दिनुभएको थियो ।

बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे सङ्घर्षका क्रममा जहाँ जहाँ पुग्नुभयो श्रोतव्यक्ति खोज्न र तथ्य सङ्कलन गर्न लेखक छवि वैरागी घिमिरे पनि त्यही त्यही ठाउँमा पुगेर प्राइमरी डाटा कलेक्सन गर्नुभएको छ l अर्थात लेखक वैरागीले कहीँ पनि सेकेण्डरी डाटाको सहायता लिएर काम चलाउनुभएको छैन ।

स्मृतिग्रन्थमा भवनाथ घिमिरेले बाल्यकाल वि. सं १९९० को दशकदेखि देखि वि. सं २०५३ सम्म गरेको सङ्घर्षलाई वर्णन गरिएको छ । एउटा गरिब परिवारमा जन्मिएको व्यक्ति जसलाई घरमा पढाउने व्यवस्था हुँदैन र पनि पढ्ने तीब्र चाहनाका कारण गाउँका अन्य धनी परिवारका बच्चाहरु पढेको ठाउँमा लुसुक्क गएर सुनेको र देखेको भरमा शिक्षा आर्जन गर्छन् । आफुले गरेको जस्तो दु:ख सन्तान र भावी पिँढीलाई नपरोस् भनेर गाउँमै पाठशाला स्थापना गर्छन् । पाठशालामा सरकारी दरबन्दि नभएपछि आफैँले मासिक १ रूपैया तलब लिने गरि पढाउन थाल्छन् जुन स्कुल अहिले सिंहदेवी उच्च मा. वि. का नामले जिल्लाभरि नै चर्चित छ ।

श्रीमती रूपमाया घिमिरेबाट लगातार ७ ओटी छोरी जन्मिएपछि उनलाई अर्को विवाह गरेर छोरो जन्माउने दवाव सहित केटी समेत देखाउन लैजाँदा समेत श्रीमती रूपमाया माथि सौता हाल्न राजी नहुनुबाट भवनाथ छोरा र छोरीबिचको विभेदकारी सोचबाट पर थिए भन्ने प्रमाणित हुन्छ । आफु र परिवारको समुन्नत भविष्यका लागि व्यापार गर्नुपर्छ भन्ने सोचका साथ व्यापार थालेका भवनाथले आफुले जानेको व्यापार कला अरुलाई पनि सिकाए । हरेक व्यक्ति उद्यमी हुन पहिला आफैं उद्यमशील हुनुपर्छ भन्ने ज्वलन्त उदाहरण थिए भवनाथ घिमिरे । उनी व्यापारको सिलसिलामा आफ्ना भरियासँगै आफैँ पनि भरिया बने । त्यो जमानामै सामाजिक विभेद र छुवाछुतको अन्त्य हुनुपर्छ भन्ने र सोही अनुसार समाजलाई अगाडि बढाउने भवनाथ एक कुशल सामाजिक अभियन्ता पनि थिए । गाउँमा पिउने पानी, कुलो, सडक, स्वास्थ्य चौकी सम्म पुर्याउन प्रमुख योगदान पुर्याएका भवनाथले खनेको गोरेटोमा अहिले पक्की मोटरबाटो बनेको छ।

अघिल्लो पुस्ताले गरेको सङ्घर्षले पछिका कैयौं पुस्ताहरुका लागि राम्रो धरातल निर्माण हुन्छ भन्ने ज्वलन्त उदाहरण हुन् भवनाथ घिमिरे । यस्ता भवनाथ घिमिरे भोजपुरमा मात्र हैन नेपालका कुना कुनामा हुन सक्छन् भन्ने लेखकको ध्येय हो । गुमनाम प्रतिभा, साधक, तथा समाजसेवकहरूको गाउँ गाउँ गएर खोजी गरि उहाँहरूले गरेका कार्यहरूको सम्मान गर्नु पर्छ भन्ने सोच लेखक छवि वैरागी घिमिरेको रहेको छ । भवनाथका छोराछोरीले मात्र हैन भवनाथ जस्ता सङ्घर्षशील बाआमाका स्मृतिग्रन्थहरु हरेक सन्ततिले लेख्नुपर्छ भन्ने नै यो ग्रन्थ लेखिनुको तात्पर्य हो ।