दोस्रो ‘धौलागिरि स्रस्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम’को आयोजना हुने

-प्रकाश बराइली ‘अभिव्यक्ति’

‘स्रस्टा, सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने मूल नारा सहित धौलागिरि सांस्कृतिक समितिको आयोजनामा यही भदौ २५ गते राधानीमा ‘धौलागिरि सङ्गीत उत्सव एवं दोस्रो धौलागिरि स्रस्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम – २०७९’ सम्पन्न हुने भएको छ । सो कार्यक्रम काठमाडौंको नयाँ बसपार्कस्थित बीजी ब्याङ्क्वेटमा दिउँसो १२ बजेदेखि सुरु हुने कुरा आयोजकले जानकारी गराएका छन् ।

कार्यक्रममा विशिष्ट ब्यक्ति लगायत गीत सङ्गीत र समाजका भिन्न भिन्न क्षेत्रमा योगदान पुर्याएका धौलागिरिबासीहरुको सहभागिता रहने बताईएको छ । कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने ब्यक्तित्वहरूलाई सम्मान समेत गरिने छ भने धौलागिरिका मौलिक संस्कृति पनि प्रस्तुत हुने छ ।

बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको कालीनाच सँगै थालीनाच, सालैजो, नौमती बाजा आदि सो कार्यक्रममका मुख्य आकर्षण हुने छन् । कार्यक्रममा गीत सङ्गीतको माध्यमबाट धौलागिरिलाई देश तथा विदेशमा चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, विष्णु खत्री, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपुत, देवी घर्ती, जुना शिरीष मगर, श्रीकृष्ण बम मल्ल लगायतका कलाकारहरुको प्रस्तुति समेत रहने छ । समारोहमा विभिन्न व्यक्तिहरुलाई धौलागिरि राष्ट्रिय सम्मान, धौलागिरि युवा सम्मान, धौलागिरि साधाना सम्मान, धौलागिरि विशेष सम्मान, धौलागिरि साहित्य सम्मान, धौलागिरि खेलकुद सम्मान, धौलागिरि पत्रकारिता सम्मान, धौलागिरि सामाजिक सम्मान लगायतका विधामा नगद राशी सहित सम्मान गरिने कुरा अध्यक्ष कृष्ण समिप सुवेदीले बताए । सम्मानित हुनेहरुको नाम चाहिं अहिले सार्वजनिक गरिएको छैन l