बिरही कार्की र अञ्जु पन्तको स्वरमा ‘मायाको ढोका खोलिदेऊ’

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय सर्जक/कलाकार बिरही कार्कीले आफ्नो नयाँ गीत ‘मायाको ढोका खोलिदेऊ’ को भिडिओ सार्वजनिक गरेका छन् l शुक्रबार नयाँ बानेश्वरस्थित एभरेष्ट लाउन्जमा आयोजित कार्यक्रममा सो लोकदोहोरी भिडिओ सार्वजनिक गरिएको हो l म्युजिक खबर डटकमकी सम्पादक सविता पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक/सङ्गीतकार तथा चलचित्र लेखक/निर्देशक नारायण रायमाझी र  विशिष्ठ अतिथि राजुबाबु श्रेष्ठले गीतको संयुक्त रुपमा विमोचन गरेका थिए l सर्जक/कलाकार कार्की केही हप्ता अघि मात्र अमेरिकाबाट नेपाल आएका हुन् l

  बिरही कार्कीकै शब्द/सङ्गीत रहेको यस गीतमा बिरही कार्की र अञ्जु पन्तले स्वर दिएका छन् । लोकप्रिय कोरियोग्राफर, निर्देशक एवं मोडल शंकर बिसीको निर्देशन रहेको यस भिडिओमा करण चैसिरको सिनेम्याटोग्राफी र नवीन घर्ती मगरको सम्पादन रहेको छ । भिडिओमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओ सर्जक/कलाकार कार्कीकै आधिकारिक युट्युब च्यानल Birahi Karki मा हिजै अपलोड भएको छ l

समारोहलाई सम्वोधन गर्दै बिरही कार्कीले विदेश गएका कलाकारहरुलाई कतिपयले ‘पलायन भयो’ भन्ने गरेको कुरामा असहमति जनाउंदै आफूहरु ‘कर्म गर्न’ मात्र विदेश गएको कुरा बताएका थिए l कार्यक्रममा भिडिओका निर्देशक शंकर बी. सी. ले पठाएको भिडिओ सन्देश प्रदर्शन गरिएको थियो भने गीतसँग सम्बन्धित सर्जक, कलाकार र प्राविधिकका साथै सहयोगी एवं सञ्चारकर्मीहरुलाई समेत मायाको चिनो र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो l