‘राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९’ सम्पन्न


‘संस्कृति रहे सिर्जना रहन्छ, सिर्जना रहे श्रष्टा रहन्छ’ बन्ने मूल नारा सहित सहयात्रा नेपालको प्रस्तुति र आवाज ईन्टरनेशनलको सहकार्यमा राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९ काठमाडौं स्थित राष्ट्रिय नाचघर जमलमा भब्य रुपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा सिन्धुली कला घर प्रथम, आठ मार्च सशक्तिकरण महिला नौमती बाजा समूह द्वित्तीय र लोक साँस्कृतिक महिला नौमती बाजा समूह तृतीय भएका छन् भने सिर्जनशील महिला नौमती बाजा समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ l अनुशासित समूहतर्फ सिर्खाली महिला पञ्चेबाजा समूह, उत्कृष्ट भेषभूषातर्फ लिग लिग महिला नौमती बाजा समूह, प्रोत्साहन पुरस्कारतर्फ शुभारम्भ उद्यमी महिला समूह र मनोरञ्जन नौमती बाजा समूह पर्न सफल भएका छन् ।

राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९‘  मा सहयात्रा नेपालकी अध्यक्ष मिना बज्राचार्यको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन आवाज ईन्टरनेशनलका अध्यक्ष शशी शर्मा मजगैयाले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ रहेका थिए । कार्यक्रममा सहयात्रा नेपालका संस्थापक अध्यक्ष  दुर्गा रायमाझीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम निर्देशक चन्द्र शर्माले प्रतियोगिताका नियमहरु प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा निर्णायकहरु वरिष्ठ सहनाईबादक बल बहादुर जैरु, सङ्गीतकार/एरेन्जर आशिष अविरल, तेजिन्द्र गुरुङ, जोगेन्द्र केसी, दुर्गा रायमाझी लगायत रहेका थिए । कार्यक्रममा अग्रज कलाकार, चर्चित कलाकार, सहयोगीदाता र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु. ५५,५५५/-, द्वितीय पुरस्कार रू. ३३,३३३/-, तृतीय पुरस्कार रू. २२,२२२/-, सान्त्वना पुरस्कार रु.१५,०००/-, उत्कृष्ट समूह रू.१०,०००/-, अनुशासित समूह रू.१०,०००/-, उत्कृष्ट भेषभूषा रू.१०,०००/- तोकिएको थियो ।

कार्यक्रममा राष्ट्रिय नारी सम्मान – २०७९, खेलकुद, सञ्चार, समाजसेवा, राजनीति, स्वास्थ्य, शिक्षा र कलाकारितामा योगदाङ पुर्‍याएका महिलाहरुलाई पनि सम्मान गरिएको थियो । साथै उत्कृष्ट महिला समूहलाई भाद्र १० गते ईन्द्रेणी स्टुडियोमा छायाङ्कन गराउने कुरा पनि कार्यक्रम निर्देशक चन्द्र शर्माले जानकारी गराए ।