कठै ! हाम्रो तीज बरिलै

-नरहरि प्रेमी (सङ्गीतकार/गायक)  


ठूली- ‘ए माइली ! ओई साइँली ! आइज त ऊ त्याँ पल्ला घराँ गज्जबसँग रत्यौली गाइराचन् बाई !’

साइँली/माइली- ‘ए हो र ठूली ? ए ए हो त रैच मोरी ! जाम् जाम् ओई, आईज कान्छी l’

कान्छी- ‘गीत गा’का हैनन् नि दिदी ! युटुबमा गीत ला’र नाचिराचन् त्याँ त l’

ठूली/साइँली/माइली- ‘मेरी आम्मै नि !… छि ! बाई कत्ति छाडा छाडा गीत बजाका हुन् त नि रत्यौली नाच्न !’

कान्छी- ‘के को रत्यौली नाच्नु नि बरै ! दर खानी कार्यक्रम हो रे त्याँ त l तीजको गीत बजाका हुन् के तिनेरुले l’

ठूली/साइँली- ‘छ्या… हो र ? कस्ले गा’का रचन् यस्तो गीत ?’

कान्छी- ‘कल्ले हुनु नि ! तिनै टिभीमा आईराख्नी मै हुम् भन्नेहरु त हुन् नि ! अलिकति कमाको नाम पनि माटामा मिलाउनी भए l’

माइली- ‘आफ्नो नाम मात्रै माटामा मिलाउनी भए त बरु क्यै थे न, देशकै नाम डुबौनी भए l’

ठूली- ‘हो त नि बाई ! हाम्रो मौलिक संस्कृति, सङ्गीत अनि परम्परालाई नै खरानी पार्नी भए बाई यस्ता बाईफाले कलाकारले l अलिकति ईज्जतको त ख्याल राख्नु नि !’

कान्छी- ‘भाइरल हुनलाई हो के छाडा भ’का, भाइरल हुनलाई l’

जेठी/माइली/साइँली- ‘भाइरल हुनी भन्दैमा हाटबजारमा गएर गाङ्गै हिंड्नी ? गतिलो काम गरेर नि भाइरल भईन्च है ! त्यै नि भाइरल हुनैपर्च भन्नी नि के च र ?’

कान्छी- ‘हैन, भाइरल हुनैपर्नी भए जीउभरि धुलोमाटो दलेर टाउकाले टेकेर चोकमा बसे भैगो नि त l गीत नै किन गाउन परो र ?’

जेठी/माइली/साइँली- ‘त्यै त नि के बाई !’

माथिको संवादबाट छर्लङ्ग हुन्छ हाम्रो रीतिथिति, परम्परा अनि संस्कृतिले कुन मोड लिँदैछ भन्ने कुरा l धर्म र संस्कृतिसँग गाँसिएको हाम्रो मौलिक सङ्गीत अहिले कु-दिशातिर ढल्किएको छ l दिनानुदिन नकारात्मकता चुलिँदो छ हाम्रो सङ्गीतकर्ममा l समग्र सङ्गीत क्षेत्र नै कलुशित बन्दै गईरहेको परिप्रेक्ष्यमा तीजगीत पनि कत्ति अछुतो रहन सकेन l अहिले बजारमा आएका तीजगीत सुन्दा लाग्छ, तीजगीत हो कि रत्यौली गीत हो ? रत्यौलीमा प्रयोग गरिने भन्दा गिरेर सुन्नै नसकिने छाडा शब्द प्रयोग गरिएका छन् अहिले तीज गीतमा l केही नगण्य बाहेक अधिकांश गीतमा अपाच्य शब्दहरुको प्रयोग गर्ने एक किसिमको होडबाजी नै मच्चिएको छ सङ्गीत जगतमा l घर घरको फोहोरले पूरै महानगर नै दुर्गन्धित भए झैं केही कलाकारको कारण सङ्गीत क्षेत्र दुर्गन्धित बनेको छ l फोहोरमा राजनीति गन्हाए जस्तो र नेताहरुको अनुहार लत्पतिए जस्तो खराब सङ्गीत सिर्जनामा श्रष्टा-कलाकारहरुको अनुहार अनि उनीहरुको चरित्र दुषित बनेर लत्पतिएको छ l

हुन त तीज सम्बन्धी गीत मात्र हैन हाम्रा अधिकांश गीतमा विकृति हावी भईरहेको कुरा जगजाहेर नै छ l तरपनि बिचार पुर्याउनै पर्ने अहम् कुरो के हो भने कम्तिमा हाम्रा संस्कृतिसँग प्रत्यक्ष जोडिएर आउने गीत सङ्गीतमा त विकृति नमिसाऊँ l किनकि यस्ता सिर्जनाहरुले हाम्रा चालचलन, परम्परा अनि धर्म संस्कृतिका बारेमा प्रत्यक्ष रुपले बोलिरहेका हुन्छन् l बताईरहेका हुन्छन् तीनका नियम, विशेषता अनि महत्व l साँस्कृतिक सङ्गीत भनेका समाज र राष्ट्रका परिचायक हुन् l समग्र धर्म-समुदायका ऐना हुन् l शव्द मात्र होईन भाकाहरु समेत विकृत भएर आईरहेका छन् अचेल तीज गीतमा l डिस्को र डीजे शैलीमा बनेका तीजगीत भनाउँदा कथित सिर्जनाहरूमा पनि हामी बेथितिले उफ्रिरहेका छौं l न त समयको निश्चितता, न हद/सिमा नै छ तीज गीतको l

अचेल झण्डै ४ महिना अगाडिदेखि नै तीजका गीत तयार पारेर युट्युबमा अपलोड गरी असाङ्गीतिक आतङ्क सिर्जना गरिन्छ l भगवान शिव र कृष्णको आराधना गरेर आफ्ना पति साथै परिवारको सु-स्वास्थ्य, दीर्घायु र समृद्धिका निम्ति मनाइनु पर्ने हाम्रो मौलिक पवित्र पर्व हरितालिका तीज अचेल बजारका नानाथरि चिजबिज जस्तो भएको छ l जहाँ पायो, जतिबेला पायो अनि जसरी पायो त्यसरी प्रयोग गर्ने वस्तु पो बनेको छ हाम्रो विशेष चाड तीज l

अरुले के गरे होईन मैले के गर्दैछु भन्नेतिर ध्यान दिऊँ l नेपाली हिन्दु नारीहरुको पवित्र चाड तीजलाई तीज जस्तै हुन दिऊँ l गलत समय, शैली र भावयुक्त अपाच्य सङ्गीत सिर्जना गरेर यसलाई भड्किलो हुनबाट जोगाऊँ  l