सङ्गीतरत्न बासकोटा अमेरिकामा सम्मानित

-सन्देश खड्का


सङ्गीतरत्न वरिष्ठ सङ्गीतकार तथा गायक शम्भुजीत बासकोटा अमेरिकामा सम्मानित भएका छन् । कलाकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ईनास अमेरिका र बानाले मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको कार्यक्रममा सङ्गीतकार तथा गायक बासकोटालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत, ईनास अमेरिकाका अध्यक्ष लोकप्रिय गायक कन्हैया सिंह र बानाका अध्यक्ष सुबोध बिलास पन्तले संयुक्त रुपमा बासकोटालाई सम्मान तथा अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा गायक प्रेमराजा महतले नेपाली चलचित्र र आधुनिक गीत सङ्गीतको क्षेत्रमा शम्भुजीत बासकोटाको योगदानको चर्चा गरेका थिए । त्यस्तै ईनास अमेरिकाका अध्यक्ष कन्हैया सिंहले बासकोटाले खनेको बिशाल राजमार्गमा हिंड्न पाएकोमा खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा बानाका अध्यक्ष सुबोधबिलास पन्त र चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेले समेत आ-आफ्नो मन्तब्य राखेका थिए ।

शुभचिन्तक र प्रशंसकहरुले भरिएको सभामा आफ्ना कालजयी गीतहरुको लाइभ प्रस्तुति हुँदा कुनै विशेष पर्व चलिरहेको जस्तो लागेको कुरा सङ्गीतकार बासकोटाले बताएका छन् । लोकप्रिय गायिका अञ्जना गुरुङ र आभा मुकारुङले सङ्गीतरत्न बासकोटाद्वारा सङ्गीतवद्ध कालजयी गीतहरु गाउँदा सभा नै गुञ्जायमान भएको थियो ।

सो सम्मान कार्यक्रमा शम्भुजीत बासकोटाकी नातिनी जारारित् प्रसाईंले साङ्गीतिक कार्यक्रमको सुरुवातमै अग्रज सर्जक स्व. नातिकाजीद्वारा सङ्गीतबद्ध गीत ‘शुभकामना भरी’ गाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिईन् भने  गायिका रानी शाक्यले समेत आफ्नो साङ्गीतिक प्रस्तुति दिएकी थिईन् । कार्यक्रम इनास अमेरिकाका महासचिव लोकप्रिय मोडल तथा नायक राहुल के. सी. ले सञ्चालन गरेका थिए l