गणेश श्रेष्ठ ‘अपेक्षा’ को दुई कृति एकैसाथ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

गीतकार सङ्घ नेपालको आयोजनामा गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’ को गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरु’ को विमोचन भएको छ l शनिबार बिजुलीबजारस्थित गीतकार सङ्घको सभाकक्षमा आयोजित समारोहमा दुबै कृतिको एकसाथ विमोचन गरिएको हो l गीतिएल्बम ‘रहरका फूलहरु’ मा वरिष्ठ सङ्गीतकार दीपक जंगमको एकल सङ्गीत रहेको छ l

सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्व एवं सङ्घका संस्थापक अध्यक्ष वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा सङ्घका उपाध्यक्ष वसन्त बित्याशी थापाले अतिथिहरुको स्वागत गरेका थिए भने प्रा. डा. बरालले एल्बम र पुस्तक दुबैको समीक्षात्मक टिप्पणी गरेका थिए l

कार्यक्रममा एल्बमका एकल सङ्गीतकार दीपक जंगम, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ र वरिष्ठ कवि तथा गीतकार रमेश पौडेलले विमोचित कृतिका सर्जक गणेश श्रेष्ठ ‘अपेक्षा’ को कृति र उनको साहित्यिक व्यक्तित्वको बारेमा आ-आफ्ना धारणा राखेका थिए l समारोहमा वरिष्ठ गीतकार विश्वबल्लभ, गीतकार प्रमोद ढुङ्गाना, गीतकार तारा अधिकारी, गीतकार डी. आर. राई, सङ्गीतकारहरु राजु सिंह, ज्योतिप्रकाश, पारस मुकारुङ लगायत गीतकार, सङ्गीतकार, गायक-गायिका, सञ्चारकर्मी एवं सर्जकका परिवारजनहरुको बाक्लो उपस्थिति रहेको थियो l केहीवर्ष अघिदेखि अमेरिका बस्दै आएका सर्जक ‘अपेक्षा’ ले गीतकार सङ्घलाई नगद रू. ३५ हजार ५ सय ५५ रुपैया सहयोग गर्ने समेत घोषणा गरेका छन् l

सर्जक ‘अपेक्षा’ को पहिलो गीतसङ्ग्रह ‘मनको आकाश’ ले गीतकार सङ्घ नेपालबाट २०७७ सालमा ‘वर्ष गीत पुस्तक पुरस्कार’ प्राप्त गरेको थियो भने यसअघि उनको ‘बाटो हिँड्दा’ (२०७७) शीर्षकको गीतिएल्बम प्रकाशन भएको थियो l कार्यक्रम सङ्घका महासचिव रमेश कोईरालाले सञ्चालन गरेका थिए l

SUBSCRIBE 👉