शनि मन्त्र लिएर आए शिशिर


आफ्नो गहकिलो स्वरका कारण श्रोतादर्शकका मनमा बस्न सफल गायक शिशिर योगी केही फरकपन दिनका लागि केही न केही गरिरहने साधक हुन् l  दर्शकश्रोतालाई हरदम फरकपनको अनुभूति दिलाउन खोज्नु नै उनको मूलभूत विशेषता हो l  पछिल्लो समयमा अध्यात्म र भक्तिसङ्गीततर्फ उनको ध्यान खिचिएको छ l  स्वर सुल्तानको उपनाम बनाएका शिशिरले गाएका मानिस खोजिरहेछु, सारङ्गी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा लगायतका गीत सदावहार बनेर नेपाली सङ्गीत आकाशमा गुञ्जिरहेका छन् l  

SUBSCRIBE 👉

राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आएका शिशिरले पछिल्लो समयमा भने भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी आवाजको जादु पस्केका छन् । प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिने छ ।

भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ । त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ । हाम्रोमा पनि भक्तिसङ्गीतलाई फरक उचाइमा लैजान शिशिर दत्तचित्त भई लागिपरेका छन् । भक्तिसङ्गीतको यस चरणमा शिशिरले गणेश वन्दना,गायत्री मन्त्र  र पौराणिक शनि मन्त्र केही हप्ता अघि नै सार्वजनिक गरिसकेका छन् l  यसै क्रममा आज उनले वैदिक, तान्त्रिक, बीज र गायत्री मन्त्रको सम्मिश्रण भएको शनि मन्त्र सार्वजनिक गरेका छन् l यसमा शिशिरको मर्मस्पर्शी स्वर सुन्न सकिन्छ l  

यस शनि मन्त्रमा पनि शिशिरले आफैं सङ्गीत भरेका छन् भने उनलाई आवाजमा सलिना बिक र उनकै सुपुत्री श्रुति योगीले साथ दिएका छन् । नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गरका छन् भने ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् l  दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका छन् । आवश्यक सुझाव, सल्लाह र शब्द सम्पादनको कार्य भने बासुदेव कृष्ण शास्त्रीले गरेका छन् l  रेकर्डिस्टका रुपमा अजय कार्की रहेका छन् । शिशिरले मेहेनेत गरेको यस गीतले पनि मनभित्र सुटुक्क पसेर आत्मामा करुण स्पर्श गर्छ l