अग्रज गीतकार विश्वबल्लभ रू. ५१ हजार सहित ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार-२०७९’ बाट पुरस्कृत

-तुलसी गिरी ‘भावुक’


वरिष्ठ गीतकार विश्वबल्लभ नगद रू. ५१ हजार सहित ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार-२०७९’ बाट पुरस्कृत भएका छन् l बुधबार जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित समारोहमा गीतकार बल्लभलाई दोसल्ला ओढाएर प्रशंसापत्र र नगद सहित पुरस्कृत गरिएको हो l गतवर्ष यो पुरस्कारबाट अग्रज लोक सर्जक चन्द्रकला शाहलाई पुरस्कृत गरिएको थियो l पुरस्कारको यो दोस्रो संस्करण हो ।

समारोहका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र पुरस्कार छनोट समितिका प्रमुख सल्लाहकार वरिष्ठ सङ्गीतकार शम्भुजित बासकोटाले संयुक्त रुपमा गीतकार बल्लभलाई पुरस्कार हस्तान्तरण गरेका थिए l गीतकार वल्लभले धेरै दिन भो तिम्रो झझल्को, तिमी बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली लगायतका दर्जनौं लोकप्रिय गीतहरु रचना गरेका छन् ।

समारोहका प्रमुख अतिथि मन्त्री गहतराजले आफू पनि सङ्गीतप्रेमी भएको र आफ्नी पत्नी कलाकारितामा रुची राख्ने भएकोले कला र कलाकारहरुप्रति निकटको सम्बन्ध रहेको बताएका थिए l विश्वबल्लभ जस्ता सर्जकलाई पुरस्कृत गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा समेत मन्त्री गहतराजाले बताए l

पुरस्कृत सर्जक बल्लभले जीवनमा आफूले धेरै पटक सम्मान र पुरस्कारहरु पाएको भएपनि यो पुरस्कार आफ्नो लागि विशेष भएको धारणा राखेका थिए भने कीर्तिमानी सङ्गीतकार तथा पुरस्कार समारोहका संयोजक सन्तोष श्रेष्ठले कन्हैया-अञ्जनाको यो कार्य सङ्गीत क्षेत्रका लागि वास्तविक योगदान भएको विचार राखेका थिए l

लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका ‘कन्हैया-अञ्जना’ ले विदेशमा आर्जन गरेको रकममध्येबाट केही रकम बचाएर व्यक्तिगत रुपमै यो पुरस्कारको स्थापना गरेका हुन् l करिव ३ दशक अघि सङ्गीतको औपचारिक यात्रा सुरु गरेका कन्हैया सिंह र अञ्जना गुरुङ नेपाली सङ्गीत क्षेत्रका एक आदर्श र उदाहरणीय जोडी कलाकार हुन् l कन्हैया सिंह परियार सुगम सङ्गीतको क्षेत्रका एक लोकप्रिय गायक हुन् भने सुगम सङ्गीत तथा चलचित्र पार्श्व गायनमा अञ्जना गुरुङको नाम पनि अग्र पङ्क्तिमा आउने गर्दछ l    

समारोहमा गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङकी सुपुत्री अपेक्षा सिंहले नृत्य प्रस्तुत गरेकी थिइन् भने माण्डवी त्रिपाठी र जमुना शर्माले गीत गाएका थिए । म्युजिक भिडिओ मोडलिङ र नृत्य मार्फत कला यात्रामा अघि बढिरहेकी अपेक्षाको प्रस्तुतिको सबैले प्रशंसा गरेका थिए l टिका गोपाल एम क्रिएशनको आयोजना तथा पीम नेपालको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रम लोकप्रिय रेडियोकर्मी हेम सुवेदीले सञ्चालन गरेका थिए l