पवित्रा आचार्य र उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार’ समर्पण गरिने


निशा घिमिरे स्मृति कोशको २०७९ श्रावण १४ गते बसेको बैठकले स्थापना वर्षको ‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई समर्पण गर्ने निर्णय गरेको छ । कोशले आज वरिष्ठ चलचित्रकर्मी एवं कोशका सदस्य सचिव मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो कुरा सार्वजनिक गरेको हो l पुरस्कारको राशी जनही नगद रू. २५-२५ हजार रहेको छ l विज्ञप्तिमा दिईएको जानकारी अनुसार कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले नर्भिक अस्पतालकी मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई पनि विशेष सम्मान अर्पण गर्ने पनि निर्णय गरेको छ ।

केहीवर्ष अगाडि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री / मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा नि:शुल्क उपचार गरिएको थियो । ५-६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै उनको २०७८ भदौ १६ गते निधन भएको थियो । उनी उपचाररत अवस्थामा नै देश विदेशमा रहेका शुभेच्छुक सहृदयी दाताहरुले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग रकम पठाएका थिए । गतवर्ष स्व.निशा घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार सङ्घको पहलमा एउटा संरक्षण कोशको स्थापना गरिएको थियो ।

शुभेच्छुक दाता र रजतपटका सञ्चालक सञ्चारकर्मी प्रकाश सुवेदीको सक्रीयतामा कोशमा जम्मा हुन आएको रकमलाई निशा घिमिरे दिवंगत भएपछि अक्षयकोशमा राखि प्रत्येक वर्ष दुई जना मोडल / अभिनेत्रीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार’ दिने निर्णय भए वमोजिम यस वर्षको पुरस्कार पवित्रा आचार्य र उषा उप्रेतीलाई समर्पण गर्ने निर्णय गरिएको हो ।

हाल निशा घिमिरे स्मृति कोशमा दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी उषा घिमिरे रहेका छन् । उक्त पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरि समर्पण गर्ने निर्णय भएको छ ।