‘अनलाइन एकल नाटक प्रतियोगिता’ का उत्कृष्ट ५ नाटकको नाम सार्वजनिक


साँस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७-७८’ को फाइनलका लागि ५ वटा नाटक छनोट भएका छन् । उत्कृष्ट ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’,  रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’,  लक्ष्मी पाण्डेको ‘१५ दिन’  र निशान खत्रीको ‘आरु फुल्यो’  रहेका छन् ।

‘घरघरमा रङ्गमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिताको आयोजना गरिएको कुरा संस्थानले जनाएको छ । प्रतियोगितामा सहभागी नाटकमध्ये पहिलो चरणमा ११ वटा छनोट भएका थिए । ती ११ वटा नाटकलाई संस्थानको युट्यव च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको थियो । दर्शकबाट सर्वाधिक लाइक र सेयर भएका एवं निर्णायकले दिएको अङ्कका आधारमा ११ बाट उत्कृष्ट ५ नाटकको छनोट गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले जानकारी दिए ।

उत्कृष्ट ५ नाटकबाट साँस्कृतिक संस्थानको मञ्चमा रङ्गमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत् साउन २२ गते विशेष कार्यक्रमबीच विजेता छनोट गरिने छ । प्रतियोगितामा पहिलो,  दोस्रो र  तेस्रो हुने नाटकलाई क्रमशः नगद रू. १ लाख,  ५० हजार र २५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ भने २ नाटकलाई सान्त्वना पुरस्कार स्वरुप १५ – १५ हजार रुपैया प्रदान गरिने कुरा समेत संस्थानले जानकारी गराएको छ । ‘नाट्य क्षेत्रमा भविश्य खोजीरहेका प्रतिभाहरुलाई राष्ट्रिय मञ्च र अवसर प्रदान गर्न अनलाइन एकल नाटक प्रतियोगिता आयोजना गरिएको हो’ महाप्रबन्धक राईले भने ।

नेपाली वा आफ्नो मातृभाषा प्रयोग गर्न सकिने यस प्रतियोगितामा देशको सार्वभौम अखण्डतामाथि आँच आउने,  सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने,  मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने,  राजनीतिक दल वा विचार झल्कने जस्ता विषय मान्य नहुने प्रावधान राखिएको थियो ।