सञ्चारकर्मी गीता अधिकारीको रचनामा शान्तिश्री र सारिकाले ल्याए तीजगीत ‘छम्म छम्म नाचौँ न’

हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीजगीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ को भिडिओ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको सङ्गीत/म्युजिक एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको यस गीतको भिडिओ शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ सङ्गीतकार राजु सिंहको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले तीजको मौलिक गीत बनेकोमा गीत र भिडिओसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

‘तीज गीतमा पछिल्लो समय मौलिकता हराउँदै गएको हो कि भन्ने पाइन्छ गीतहरू सुन्दा l तर यस्ता गीतले मौलिकता बचाइराख्दछन्’ प्रमुख अतिथि राणाले भन्नुभयो । सो अवसरमा गीत सङ्गीतसँग सम्बन्धितहरूलाई प्रशंसापत्र अर्पण गरिएको थियो ।

सात दिदीबहिनीको कथा बुनिएको यस गीतको भिडिओमा रोशन बुढाथोकीको कोरियोग्राफी रहेको छ । भिडिओमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, सङ्गीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापा लगायतका कलाकारको अभिनय तथा नृत्य रहेको छ । ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको यो भिडिओ आकर्षक ढङ्गबाट निर्माण गरिएको छ ।

नरेश खरेलको शृङ्गार, राहुल राईको छायाङ्कन र विष्णु शर्माको सम्पादन रहेको यस भिडिओको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिर रहेको छ । गीतको भिडिओ ओएसआर डिजिटल मार्फत् सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीजगीत सार्वजनिक भएका छन् । यस्तै उहाँका अन्य गीत पनि श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् ।

तस्विर : सुरेन्द्र थापा