कन्हैया -अञ्जनाको स्वरमा ‘नजर नजरको’ म्युजिक भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’


लामो समय अघिदेखि अमेरिकामा रहेर पनि निरन्तर सङ्गीतकर्ममा क्रियाशील लोकप्रिय गायक कन्हैया सिंह र गायिका अञ्जना गुरुङको युगल स्वरमा रहेको गीत ‘नजर नजरको’ को भिडिओ सार्वजनिक भएको छ l  बिहीबार काठमाण्डौस्थित क्युएस सिनेमा हल कमलादीमा एक कार्यक्रमको आयोजना गरी सो म्युजिक भिडिओ सार्वजनिक गरिएको हो ।

वरिष्ठ सर्जक शम्भुजित बास्कोटाको शव्दरचना एवं सङ्गीत रहेको यस गीतको भिडिओ गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा निर्माण भएको हो l  भिडिओमा पुष्प खड्काको साथमा पहिलोपटक कन्हैया- अञ्जनाकी छोरी अपेक्षा सिंहले अभिनय गरेकी छिन् । ‘अभिनयमा पहिलोपल्ट पाइला राखेकी छु र चर्चित नायक पुष्पसँग अभिनय गर्न पाउँदा ज्यादै उत्साहित रहेकी छु’ अपेक्षाले समारोहमा बताइन् । ‘बहिनी अञ्जना र भाइ कन्हैयाको जोडीलाई हेर्दै, सम्झंदै ‘नजर नजरको’ शीर्षक राखेर गीतमा सङ्गीत भरेको हुँ’ सङ्गीतकार बाँसकोटाले बताए ।

सङ्गीतकर्मकै लागि बेला बेलामा अमेरिकाबाट नेपाल आईरहने थोरै सर्जक/कलाकारहरु मध्येका एक कन्हैया सिंहले अमेरिकामा विभिन्न साङ्गीतिक संस्थाहरुको स्थापना गरी छरिएर रहेका नेपाली सर्जक/कलाकारहरुलाई गोलबन्द गरेका छन् l सामाजिक कार्यमा समेत उत्तिकै क्रियाशील उनले गतवर्षदेखि नेपाली सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान दिने एकजना अग्रज सङ्गीतकर्मीलाई नगद रू. ५१ हजार सहित ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत गर्ने कार्यको समेत थालनी गरेका छन् l ‘नेपाली गीत सङ्गीतमै लागेर जीवन बिताउन पाइयोस्’ समारोहमा कन्हैयाले भने l गीतमा मनोहर सुनामको सङ्गीत संयोजन र प्रकाश मिश्रको रेकर्डिङ रहेको छ भने सहायक निर्देशकमा सुबोल थापा, सिनेम्याटोग्राफर नवराज उप्रेती र सम्पादक नवीन निरौला रहेका छन् ।