नेपाल लोक सांस्कृतिक प्रतिष्ठानको १५ औं वार्षिकोत्सव सम्पन्न, प्रथम नृत्य निर्देशक थापालाई ‘दीर्घ साधना सम्मान’


नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठानको १५ औं वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ मा उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो । सोही अवसरमा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रङ्ग पत्रकारिता सम्मान’ प्राप्त गरे ।

कार्यक्रममा रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारिता सम्मान’ र सहनाईवादक तथा पञ्चे बाजाका अग्रज आईत बहादुर परियार ‘लोक संस्कृति सम्मान’ बाट सम्मानित भएका थिए । गणतन्त्र नेपालका प्रथम उप-राष्ट्रपति परमानन्द झा, प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, निर्देशक नारायण पुरी लगायतले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

विभिन्न जातिका लोकबाजा तथा नृत्यसहित सुरु भएको सो कार्यक्रममा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले २०६५ मा स्थापना भएको प्रतिष्ठानले मेचीदेखि महाकालीसम्म विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

त्यस्तै पूर्व उपराष्ट्रपति झाले नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला संस्कृतिको उत्थान गर्दै आएको थाहा पाउँदा आफू निकै हर्षित भएको बताए । ‘मलाई मनपर्ने नेपाली लोक नृत्य हेर्दा निकै खुशी लाग्यो l  म भन्दा पनि जेठो वयोवृद्ध नृत्य निर्देशक भैरव बहादुर थापालाई गरेको सम्मान तथा आ-आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका ब्यक्तिलाई गरेको सम्मान निकै सराहनीय छ’ उनले भने l

प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठान मार्फत नेपाली लोक कला तथा संस्कृतिलाई विश्वमाझ चिनाउन पाउँदा आफूलाई निकै खुशी लागेको बताए । उनले नेपाली मौलिक लोक संस्कृतिको विभिन्न क्षेत्रमा योगदान गर्नेलाई आगामी दिनमा पनि कार्यक्रम गरेर सम्मान गर्ने बताए ।

समारोहमा प्रतिष्ठानका सल्लाहकार तथा सङ्गीतकार सुरेश अधिकारी र कलाकार उत्तम शर्मालाई बधाई तथा सम्मानपत्र, प्रतिष्ठानका संस्थापक अध्यक्ष, गायक तथा सङ्गीतकार शिवराज पौडेल, संस्थापक महासचिव तथा नृत्य निर्देशक दिनेश कुमार लामा,  नृत्य निर्देशक शम्भु शाही, नृत्याङ्गना तथा कलाकार पूर्णिमा श्रेष्ठलाई संस्थागत सम्मान प्रदान गरियो ।

ईभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल र गायक शिशिर योगीले समेत सम्मान पत्र प्राप्त गरेको सो कार्यक्रममा वर्माकी नेपालीभाषी गायिका डीना चौलागाईं, नेपाल समाचारपत्रकी रश्मी थापा, वाद्यवादक न्हुच्छे राजा मुनिमर लगायत कदरपत्रबाट सम्माति भए भने विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।

गायक शिशिर योगी, कृष्ण रेउले र  सुनिता परियार लगायतले गीत प्रस्तुत गरेको सो कार्यक्रममा भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डी लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरिएको थियो ।