विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय खनालले १ नेपाली र ४९ अन्तर्राष्ट्रिय गरी ५० भाषामा रेकर्ड भएको एउटै गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गर्नुभएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्ड कायम गरेको सो गीतको प्रमाणपत्र उहाँलाई हस्तान्तरण गरिएको हो । शहरी विकास मन्त्री मेटमणि चौधरीले उहाँलाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । सन्तोष श्रेष्ठको सङ्गीत रहेको सो गीतमा नेपाली भाषामा सन्तोषको, हिन्दीमा गीतकार डी.आर. स्वयम्को र अन्यमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ ।
गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।
खनाल समाजका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा भएको सो प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार सङ्घका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा र पूर्व राजदूत रमेश प्रसाद खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले डा. उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने भन्दै प्रशंसा गर्नुभएको थियो ।
सङ्गीतकार सन्तोष श्रेष्ठले यसअघि विभिन्न १२ देशका भाषामा गीत गरेकोमा फेरि पचास भाषामा गीत सार्वजनिक भएको र यसले विश्व कीर्तिमान कायम गरेकोमा निकै हर्षित भएको बताउँदै डा. उपाध्यायले हेरक पल्ट नयाँ र फरक कार्य गर्न खोज्ने क्रममा यसको जन्म भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री मेटमणि चौधरीले. डा. उपाध्यामा अद्भुत क्षमता रहेको र उहाँले कीर्तिमान कायम गर्दै जानुभएको बताउनुभयो । उहाँले अब डा. उपाध्यायको यो क्षमता सबैको खोजीको विषय भएको र उहाँमा रहेको क्षमताको उचित सम्मान र कदर गर्नुपर्ने बताउनुभयो । यस्तै गीतका रचनाकार डा. उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको दाबी गर्नुभयो ।
सो अवसरमा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’को विश्व कीर्तिमानको प्रमाणपत्र पनि डा. उपाध्यायलाई हस्तान्तरण गरिएको थियो । यस्तै डा. उपाध्यायलाई मन्त्री चौधरीले शुभकामना तथा बधाई दिंदै प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने डा. उपाध्यायले पनि मन्त्री चौधरीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । यसअघि गीत सङ्गीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायको विश्व कीर्तिमानको संख्या ११० पुगेको छ । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको सो समारोहमा सञ्चारकर्मीहरू र गीत सङ्गीतका विभिन्न विधाका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा. उपाध्यायका २८ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् । यस्तै उहाँको नयाँ उपन्यास ‘कसुर’ छिट्टै सार्वजनिक हुने कुरा बताइएको छ ।














