विश्वबल्लभलाई ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने


लोकप्रिय साङ्गीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट स्थापना भएको ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ यसबर्ष अग्रज गीतकार विश्वबल्लभलाई प्रदान गरिनेभएको छ । आउँदो श्रावण १८ गते राष्ट्रिय नाचघरमा एक कार्यक्रमको आयोजना गरी गीतकार बल्लभलाई ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०७९’ बाट पुरस्कृत गर्न लागिएको कुरा कीर्तिमानी सङ्गीतकार तथा पुरस्कार समारोहका संयोजक सन्तोष श्रेष्ठले जानकारी गराएका छन्  । सयौँ गीतका गीतकार विश्वबल्लभ नेपाली सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुन् । सर्जक बल्लभलाई नगद रू. ५१ हजार सहित सम्मान पत्र प्रदान गरिने कुरा समेत कार्यक्रमका संयोजक एवं सङ्गीतकार सन्तोष श्रेष्ठले बताए ।

कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि सक्रीय गायक एवम् सङ्गीतकारको रूपमा परिचित छन् भने अञ्जना गुरुङ आधुनिकदेखि पार्श्व गायन सम्मको क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् । नेपाली साङ्गीतिक आकाशमा आदर्श जोडीको छवि बनाएको यस जोडीले गत वर्षदेखि नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका एक जना सङ्गीतकर्मीलाई नगद राशी सहित सम्मान गर्दै आएको छ । गतवर्ष ‘कन्हैया सिंह राष्ट्रिय सङ्गीत पुरस्कार’ को नामबाट स्थापित यस पुरस्कारको नामलाई संशोधन गर्दै यस वर्षबाट ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ बनाईएको कुरा समेत कार्यक्रम संयोजक श्रेष्ठले बताए । गतवर्ष वरिष्ठ लोक गायिका चन्द्रकला शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।