२ कार्यकाल पछि ढकालको विदाई, सूर्य मगरको नेत्तृत्वमा नयाँ समिति

-तुलसी गिरी ‘भावुक’


सङ्गीत तथा चलचित्र उत्पादक समाजको पाँचौं, छैटौं र सातौँ वार्षिक साधारण सभाले सूर्य क्रिएशन प्रा. लि. का प्रवन्ध निर्देशक सूर्य बहादुर मगरको नेतृत्वमा सर्वसम्मतले नयाँ कार्यसमितिको चयन गरेको छ l विभिन्न बाधा विरोधका बाबजुद कार्यकुशलताका साथ लगातार २ कार्यकालसम्म संस्था हाँकेका निर्मलराज ढकाल शुक्रबारबाट समाजको निवर्तमान अध्यक्ष भएका छन् l कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थितिका कारण ३ वर्षको साधारण सभा एकैपटक आयोजना गर्नुपरेको कुरा कानून व्यावसायी समेत रहेका ढकालले बताए l

समाजमा पद मात्र हेरफेर गरि धेरैजसो पुरानै पदाधिकारीहरु दोहोरिएका छन् l साधारण सभामा दिईएको जानकारी अनुसार समाजको अध्यक्षमा सूर्य बहादुर मगर, उपाध्यक्षमा हुम गैरे, महासचिवमा सुनिल लामिछाने, सचिवमा छविराज ओझा, कोशाध्यक्षमा मेघराज मगराती र सदस्यहरुमा शशी (तोरण) गुरुङ, उमेश गुरुङ, धनु ज्ञाङ्मी र रुकमान लिम्बू गरी ९ जना निर्वाचित भएका छन् l विधान अनुसार समितिले २ जना सदस्य मनोनित गर्न सक्ने कुरा थाहा भएको छ l नव निर्वाचित समितिको कार्यकाल २ वर्षको हुने छ l

साधारण सभामा निर्वाचन अधिकृत कानून व्यावसायी तारा श्रेष्ठले दिएको जानकारी अनुसार उम्मेद्वारी दर्ता, विरोध र फिर्ताका प्रक्रियाहरु साधारण सभाको एकदिन अघि अर्थात् बिहीबार नै सम्पन्न भएको थियो l सबै पदका लागि एक भन्दा बढी उम्मेद्वारी नपरेका कारण मतदान बिना नै सर्वसम्मतले पदाधिकारीहरुको चयन भएको हो l

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विष्णु कुमारी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा संस्थाका महासचिव हुम गैरेले साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए भने कोशाध्यक्ष राज शुक्र लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए l दुबै प्रतिवेदन सभाले ताली बजाएर पास गरेको थियो l निर्मलराज ढकाल अध्यक्षमा निर्वाचित भएपछि समितिलाई अवैधानिक भन्दै समूह नै बनाएर शृङ्खलावद्ध रुपमा लामो समयसम्म विरोधमा उत्रिएका सदस्यहरुको भने सभामा उपस्थिति थिएन l विरोधी समूहका सदस्यहरु रोयल्टी लिन मात्र संस्थामा आउने गरेको कुरा थाहा भएको छ l