२८ औं समूहका कला प्रशिक्षार्थीहरुको कला परीक्षण एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

-तुलसी गिरी ‘भावुक’


साँस्कृतिक संस्थानद्वारा सञ्चालित २८ औं समूहका कला (अभिनय, नृत्य, गायन र वाध्यवादन) प्रशिक्षार्थीहरुको कला परीक्षण एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ l मङ्गलबार जमलस्थित संस्थानको मेघा हलमा आयोजित सो कार्यक्रम संस्थानका महाप्रवन्धक अशोक प्यासी राईको अध्यक्षतामा सम्पन्न भएको हो l

समारोहमा २८ औं समूहका मादलतर्फका ९ जना, बाँसुरीका १० जना, गायनका २० जना, नृत्यका ११ जना र अभिनयका ३८ जना प्रशिक्षार्थीहरुले आ-आफ्ना कलाको प्रस्तुति दिएका थिए l प्रशिक्षार्थीहरुले संस्थानमा ६ महिनासम्म प्रशिक्षण लिएका थिए l प्राप्त जानकारी अनुसार प्रशिक्षार्थीहरुलाई विधागत प्रशिक्षकहरु अभिनयमा प्रभाकर देव शर्मा र वीरेन्द्र हमालले, नृत्यमा शारदा सिलवाल, मनोज जोशी र केशवराज राईले, गायनमा नरसिंहलाल श्रेष्ठ र तीर्थराज पोखरेलले, मादलमा खर्क बहादुर बुढाले र बाँसुरीमा दुर्गा प्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए भने प्रशिक्षण ईकाईको संयोजकको जिम्मेवारी वरिष्ठ बाँसुरीवादक एवं प्रशिक्षक दुर्गा प्रसाद खतिवडाले पूरा गरेका थिए l कार्यक्रममा प्रशिक्षार्थीहरुलाई संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले प्रमाणपत्र समेत वितरण गरेका थिए l संस्थानमा प्रशिक्षण लिएका धेरै कलाकर्मीहरु गीत-सङ्गीत एवं अभिनयको क्षेत्रमा व्यावसायिक कलाकारको रुपमा क्रियाशील रहँदै आएका छन् l  

 समारोहमा संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले प्रशिक्षित विद्यार्थीहरुलाई बधाई दिँदै २९ औं समूहदेखि संस्थानले कला प्रशिक्षणका सबै विधामा ‘एडभान्स कोर्स’ समेत सञ्चालन गर्न लागेको कुरा जानकारी गराए l संस्थानले २९ औं समूहका लागि आवेदन खुला गरिसकेको कुरा थाहा भएको छ l ‘यहाँबाट प्रशिक्षित विद्यार्थीहरु भविष्यमा आ-आफ्ना विधामा व्यावसायिक हुन् सकुन् भन्ने हाम्रो उद्देश्य हो’ महाप्रवन्धक राईले भने l संस्थानले देशैभरिका कलाकर्मीहरुलाई सुचिकृत हुनका लागि आह्वान गरेको कुरा जानकारी गराउँदै महाप्रवन्धक राईले सुचिकृत कलाकारहरुलाई संस्थानले आयोजना गर्ने विभिन्न साँस्कृतिक प्रस्तुतिहरुमा सहभागी गराईने कुरा समेत स्पष्ट पारेका छन् l समारोहमा दुर्गा प्रसाद खतिवडाले अतिथिहरुको स्वागत गरेका थिए भने रोहित सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए l