२१ सर्जक/कलाकारको योगदान ‘अन्तरङ्ग’भित्र, सुरेन्द्र महर्जन ‘अमर’ माथिको लेख अडिओमा ।


साहित्यकार एवम् पत्रकार विनोद दाहाल वत्सद्वारा विभिन्न व्यक्तित्वहरू माथि लेखिएको विश्लेषणयुक्त पुस्तक अन्तरङ्ग (केही अग्रणी व्यक्तित्वहरूसँगको विमर्श) एक समारोहबीच सार्वजनिक भएको छ । विभिन्न व्यक्तिहरूको विषयमा लेखिएको सो पुस्तकमा उहाँहरूले आ-आफ्नो क्षेत्रबाट समाज र देशको निमित्त के के योगदान दिनुभयो ? भन्ने कुरालाई समेटिएको छ । पुस्तक मुक्तिनाथ दर्शन साहित्य समाज नेपालबाट प्रकाशित भएको हो ।

पुस्तकभित्र सुरेन्द्र महर्जन ‘अमर’ , डा. अर्जुनदेव भट्ट, ओमप्रसार कोइराला, कलानिधि, खडानन्द, खेम दाहाल, डा. डिआर उपाध्याय, तारा बहादुर कुँवर, तेजप्रकाश बानियाँ, दुर्गा भमरकोटे, धनविक्रम सिंह, पुरुषोत्तम दाहाल, पुष्पमान अमात्य, प्रतापराज वन्त, माधव रेग्मी, रञ्जुश्री पराजुली, लेखनाथ पोखरेल, वियोगी बुढाथोकी, डा. विष्णु के. सी., शम्भू कोइराला, हरिभक्त सिग्देल ‘महेश’ आदि गरी एक्काइस जना विशिष्ट साहित्यकार, गीतकार, कवि, गायक, चित्रकार, कलाकार, हाइकुकार र उपन्यासकारहरुको बारेमा लेखिएको छ ।

यसै क्रममा बहुआयामिक व्यक्तित्व सुरेन्द्र महर्जन ‘अमर’ को विषयमा पुस्तकमा लेखिएको लेखको अडियो समेत सार्वजनिक भएको छ । पुस्तक अन्तरङ्गभित्र अमरताको चाहना राख्ने स्रस्टा सुरेन्द्र महर्जन ‘अमर’ शीर्षकको सो लेखको अडिओको वाचन रुपा अकौलियाले गरेकी छिन् ।

आफ्नो संस्थाको तर्फबाट सो लेखको अडिओ बनाएर वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को सम्मान स्वरुप सहयोग गरेको ओएस नेपालका विवेक कार्कीले बताएका छन् । अडिओ अमर म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।