दुई कृति एकैसाथ लिएर आइन् सुशीला


साहित्यकार सुशीला पौडेल आफ्ना दुई कृति ‘मुक्तक मनुषी’ (मुक्तकसङ्ग्रह) र ‘खुसीविनाको मुस्कान’ (गजलसङ्ग्रह) लिएर आएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी उनले यी कृतिहरु सार्वजनिक गरेकी हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता एवं कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व तथा साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी, आख्यानकार डा. भोजराज घिमिरे, कवि तथा गीतकार चूडामणि देवकोटा, समावेशी आयोगका सदस्य विष्णु ओझा, कवि एस्पी कोइराला, शुष्मारानी देवकोटा तथा सर्जकका मातापिता राधा पौडेल तथा फणीन्द्र प्रसाद पौडेलको आतिथ्यतामा दुबै कृतिको लोकार्पण गरियो ।

प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्ज्वलन गरी औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा प्रसिद्ध कवि एवं गीतकार दिनेश अधिकारी, एस्पी कोइराला, चूडामणि देवकोटा, भोजराज घिमिरे  र विष्णु ओझाले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले सुशीला पौडेल कृतिगत रुपमा उल्लेखनीय उपस्थिति जनाउने उदियमान गजलकार एवं मुक्तककारका रुपमा परिचय बनाउन सफल भएको विचार राखेका थिए । यसै क्रममा वक्ताहरुले साहित्यकार पौडेलको आगामी लेखन कार्यको सफलताको शुभकामना दिँदै वर्तमान समयकी सशक्त एवम् उज्ज्वल भविष्य बोकेकी स्रष्टा रहेको भन्दै उनको सफल काव्यिक यात्राले लामो फड्को मार्नेछ भन्ने कुरामा विश्वस्त रहेको बताएका थिए ।

कार्यक्रममा विमोचित कृतिमाथि समीक्षा गर्दै डा. मुरारी पराजुलीले मुक्तक नेपाली साहित्यको सर्वप्रिय विधा भएको कुरा बताए । सुशीला पौडेलको लालित्यपूर्ण सिर्जनात्मक लेखनकला र अक्षरको खेतीमा उच्च शिल्पको प्रयोग गरिएकोले दुबै कृति पाठकलाई सुरुचिपूर्ण लाग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

यसैक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली साहित्यका भिन्न भिन्न विधामा सशक्त रुपमा कलम चलाइरहेकी सुललित लेखनकला भएकी युवा साहित्यकार सुशीला पौडेलको एकसाथ दुई कृति सार्वजनिक कार्यक्रममा अयोग्यताका बावजुद पनि प्रेमले सम्झिदिनु भएकोमा आफूले पनि साहित्यिक खुराक प्राप्त गरेको स्मरण गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव उत्तरदायी भूमिका निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभावकारी योगदानको अपेक्षा रहेको बताए ।

बाबु त्रिपाठीद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रतिकूल मौसममका बाबजुद पनि उल्लेख मात्रामा साहित्य अनुरागीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा स्रष्टा सुशीला पौडेलले आफ्ना केही गजल र मुक्तक वाचन गरेकी थिइन् ।