‘गणेशस्तुति मन्त्र’ पछि ‘गायत्री मन्त्र’ को भिडिओ सार्वजनिक  

तुलसी गिरी ‘भावुक’


फरक विषयवस्तु, भिन्न चिन्तन र गहिरा भावका गीत मार्फत अलग्गै पहिचान स्थापित गरेका ‘मेलोडी सुल्तान’ को उपनामबाट समेत परिचित सङ्गीतकार / गायक शिशिर योगीले ‘गायत्री मन्त्र’ गायनको भिडिओ सार्वजनिक गरेका छन् । भिडिओ आज बिहान ४ बजे सङ्गीतकार / गायक योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi  बाट बजारमा आएको हो ।

धार्मिक एवं वैदिक मान्यता अनुसार १ सय ८ पटक गाईएको यस मन्त्रमा गायक योगीलाई श्रुति योगी र सलिना बि. क. ले स्वरमा साथ दिएका छन् । नोर्बु शेर्पाको सङ्गीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ रहेको यस मन्त्रको भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा सम्पादक वीरेन्द्र भाट ‘विपिन’ ले तयार पारेका हुन् । जसमा लोकेश भाटको सह सम्पादन रहेको छ । 

नेपाली गायक / गायिकाको स्वरमा विभिन्न देवी देउताहरुको स्तुति गरिएको वैदिक मन्त्रगायन त्यति नभएको महसुस गरी यो मन्त्र तथा भिडिओ आफूले सार्वजनिक गरेको कुरा योगीले बताएका छन् ।   

गत जुन १४ मा पहिलोपटक ‘गणेशस्तुति मन्त्र’ को भिडिओ सार्वजनिक गरी वैदिक मन्त्रगायनलाई अगाडि बढाएका योगी छिट्टै शनि मन्त्र र शनि बीज मन्त्रको भिडिओ पनि प्रकाशन गर्ने तयारीमा लागिरहेको कुरा थाहा भएको छ । वैदिक मन्त्रगायनलाई यसैगरी निरन्तरता दिने कुरा पनि सङ्गीतकार / गायक योगीले बताए । लाखौँ नेपाली दर्शक / श्रोताले भारतीय गायक / गायिकाहरुको स्वरमा रहेका वैदिक मन्त्र गायनका अडियो तथा भिडिओहरु दैनिक सुन्ने र हेर्ने गरेका छन् ।