टंक के. सी. र रणमाया दासको स्वरमा पूर्वेली भाका ‘पानी सलल’

-तुलसी गिरी ‘भावुक’


वरिष्ठ लोक गायक / सङ्कलक तथा मौलिक कला संस्कृति एवं सम्पदा अन्वेषक, लेखक टंक के. सी. र रणमाया दासको स्वरमा रहेको पूर्वेली लोकभाकामा आधारित गीत ‘पानी सलल’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ केहीदिन अघि U-Dhir नामक युट्युब च्यानलबाट रिलिज गरिएको हो l

टंक के. सी. कै लय सङ्कलनमा रहेको यस गीतको भिडिओमा टंक के. सी. र रणमायाले नै लिप्सिङ दिएका छन् भने मोडलको रुपमा युधिर के. सी. र पूजा थापा के. सी. लाई देख्न सकिन्छ l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यो म्युजिक भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन र महेश महराको सिनेम्याटोग्राफीमा छायाङ्कन भएको हो भने भिडिओको सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले नै गरेका छन् l

४० सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी त्यही बर्ष पहिलो लोकगीत ‘राम राम छ ए माया’ रेकर्ड गरी सङ्गीतको औपचारिक यात्रा सुरु गरेका सर्जक / कलाकार टंक के. सी. का  हालसम्म सङ्कलन तथा स्वरमा लगभग २ सय गीत रेकर्ड भईसकेका छन् भने २ दर्जनजति गीति एल्बम पनि प्रकाशन भएका छन् l गीत-सङ्गीतमा मात्र नभई साहित्यको क्षेत्रमा समेत टंक के. सी. को धेरै ठूलो योगदान रहेको छ l कवितासङ्ग्रह, लोकगीत सङ्ग्रह, दोहोरीगीत सङ्ग्रह, उपन्यास, लघु उपन्यास, लघु पुस्तिका, सामान्य ज्ञान लगायत धार्मिक तथा साँस्कृतिक विधाका गरी २ दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका बहुआयामिक प्रतिभा के. सी. ले विभिन्न पत्रपत्रिका, स्मारिका र मुखपत्रहरुमा सम्पादक, स्तम्भकार र सल्लाहकारका रुपमा समेत आफ्नो जिम्मेवारी पूरा गरेका छन् l जसको कदरस्वरूप उनले विभिन्न समयमा साहित्य र सङ्गीत क्षेत्रबाट थुप्रै पुरस्कार एवं सम्मानहरु समेत पाएका छन् l

SUBSCRIBE 👉

साहित्यिक र साङ्गीतिक क्षेत्रका सङ्घ-संस्थाहरुका कार्यसमिति अध्यक्षदेखि सदस्य सम्मका विभिन्न पदमा रही महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका के. सी.लाई नेपाली सङ्गीत तथा साहित्यको क्षेत्रमा लामो समय अघिदेखि निरन्तर क्रियाशील एक अथक साहित्यिक / साँस्कृतिक योद्धाको रुपमा चिन्न सकिन्छ l