गीतमा दृष्टिबिहीनहरुको कथा-व्यथा ‘हाम्रो पनि मन हुन्छ’


दृष्टिबिहीनहरुले भोग्नेगरेका दु:खसुखको कहानीलाई गीतमा उतारिएको ‘हाम्रो पनि मन हुन्छ’ को भिडिओ ‘डिलाईटेड नेपाल’ युट्युब च्यानल मार्फत रिलिज भएको छ । यसैबर्ष रचनातर्फको नातिकाजी स्मृति पुरस्कारबाट पुरस्कृत गीतकार डी. पी. दाहाल ‘परिश्रमी’द्वारा रचित उक्त गीतमा दृष्टिबिहीनहरुको मन भित्रका पीडा र  भोगाईहरुलाई राम्रो ढङ्गले प्रस्तुत गरिएको छ । प्रत्यक्षरुपमा आँखा देख्नेहरुले आँखा नदेखि विवश भएकाहरुलाई अन्तर्मनदेखि नै माया गरौँ l उनीहरुले बाहिरी आँखा नदेखे पनि भित्री आँखाले सबै देखिरहेका हुन्छन् भन्ने कुरा गीतले बोलेको छ ।

अर्कालाई अर्ति दिन जो पनि तयार हुन्छन् तर ब्यबहारमा खरो उत्रन सक्दैनन् l  त्यसैले बोलीले मात्र हैन, ब्यबहारले नै दृष्टिबिहिनहरुलाई सहयोग गर्नुपर्ने, माया गर्नुपर्ने गीतका शब्दहरुले बोलेका छन् ।

धेरै धन कमाएकाहरु पनि सबै सुखी हुन्नन् र धन हुँदैमा सबैको मन खुशी हुँदैन l तसर्थ हामीभित्र रहेका बाहिरी र भित्री आँखा चिन्नुपर्छ, मान्छेको मनभित्र नै आगो र पानी हुने भएकाले सबैप्रति संयमतापूर्वक प्रस्तुत हुनुपर्छ  र दैबको लेखालाई कसैले टार्न सक्दैन भन्ने कुरा पनि गीतमा समावेश भएको पाईन्छ ।

यस गीतमा लोकप्रिय गायक दीपक लिम्बू र  गायिका पूजा देवकोटाको स्वर, पुरुषोत्तम न्यौपानेको सङ्गीत र केशव बडूको म्युजिक एरेञ्ज रहेको छ । भिडिओ निर्देशनमा लामो अनुभव भएकी लोकप्रिय निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेकी हुन् । जसमा कलाकार द्वय कमल सिंह र आयुष्मा कार्कीको अभिनय रहेको छ । डिलाईटेड नेपालको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडिओमा प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल, सम्पादन / कलर प्रकाश धमला, मिक्सिङ माष्टरिङ साजन साह र  क्यामरा सुरेश श्रेष्ठको रहेको छ ।