राजधानीमा ३ दिने `थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ को आयोजना


कुनैपनि व्यक्तिको सोच र क्रियाकलापमा विचलन आउँदा त्यसको प्रभाव उसको व्यक्तिगत जीवनमा मात्र नभइ सिङ्गै समाजमा पर्दछ। यही समस्यालाई मध्यनजर गर्दै सभ्य सृजना प्रा.लि.को प्रस्तुति र स्कुल फाउण्डेशनको आयोजना रहेको `थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ सम्पन्न भएको छ । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा यही असार १०, ११ र १२ गते काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिका भित्रका ३ स्थानमा सञ्चालन गर्ने क्रममा दोस्रो दिनको कार्यक्रम वडा नं ७ को बाँसबारीमा रहेको अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेण्टमा सम्पन्न भएको हो ।

बु. न. पा. का नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उप-प्रमुख अनिता लामा, वडाअध्यक्षहरु श्रीराम केसी, रवि खड्का, बसनारायण महर्जन, शम्भु प्र. भट्टराई, राजु अधिकारी, सुमित्रा त्रिपाठी (पाण्डे) सहित नगरका अधिकांश वडा सदस्यहरु, नगरका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्र. दाहाल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।

स्वास्थ्यकर्मी, अभिभावक, शिक्षक, विधार्थी, सामाजसेवी, महिला अधिकारकर्मी, सुरक्षाकर्मी, युवायुवती वृद्धवृद्धाहरु  र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम अत्यन्तै भव्य रहेको थियो । स्वास्थ्य मन्त्रालय (NCASC) वाट Award Of Excellence प्राप्त ‘थिङ्क पोजेटिभ ग्लोबल क्याम्पियन’ यसभन्दा अगाडि पनि देशका विभिन्न जिल्लाहरुमा सञ्चालन भैसकेको थियो। नेपालीहरुमा रहेको गिरवी, अशिक्षा, पछौटेपन, बसाईँसराईँ, बेरोजगारी, विदेशिनु जस्ता विद्यमान समस्याहरुले युवाहरुमा नकारात्मक सोच, हीन भावना, देखासिकी, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा कुलतमा लाग्ने प्रक्रिया तीव्र रूपमा वढ्दै गएको छ । विभिन्न सम्वन्धित निकायहरुले गरेका अनुसन्धान अनुसार यो क्रम दुर्गम क्षेत्रमा भन्दा शहरी र शहरोन्मुख क्षेत्रहरुमा बढि देखिन्छ। यसलाई केही हदसम्म भएपनि निस्तेज पार्न सकिने उद्देश्यका साथ विभिन्न Drug, HIV प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा स्कुल फाउण्डेशनले सोही विषयमा वनाइएको चलचित्र सिग्नेचर प्रदर्शन, मनोपरामर्श, जनजागरण र उत्प्रेरणा जस्ता कार्यक्रमका साथ यो अभियानलाई अत्यन्तै प्रभावकारी तरिकाले अगाडि वढाएको छ ।

ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज), सभ्य सिर्जना प्रा.लि. र स्कूल फाउण्डेशनका अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । पछिल्लो समयका चर्चित गीतकार तथा चलचित्र निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र स्कुल फाउण्डेशनका महासचिव पनि हुन् ।

यो अभियान र चलचित्रलाई यूएनएआइडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार, संस्कृति तथा पर्यटन मन्त्रालय लगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटीले एक्नलेज्ड गरेका छन् । अभियानको मुख्य आकर्षणको रूपमा रहेको वास्तविक जीवन कथामा आधारित चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव, व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही बमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पर्ने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

परिवारको सही निगरानीको अभाव र खराब सङ्गतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र जीवन क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ । अत: एकै वाक्यमा भन्नुपर्दा समग्र चलचित्रको भाव सकारात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ ।

सो कार्यक्रममा सिनेमा थेरापीसँगै चर्चित मोटिभेसनल स्पिकर सुदन ज्ञवालीद्वारा मोटिभेसनल सेसन, मनोविश्लेषक बासु आचार्यद्वारा मनोपरामर्श सेसन र इ. राजेन्द्र चटौतद्वारा थिङ्क पोजेटिभ, थिङ्क डिजिटल सेसन चलाइएको थियो । स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिएको सो कार्यक्रममा महिलाहरुको लागि नि:शूल्क सेनीटरी प्याड र पुरुषहरुका लागि कण्डम वितरण गरिएको थियो। स्वदेश तथा विदेशमा सञ्चालन गर्ने योजना बनाइएको यस अभियान विभिन्न चरणहरु गरि प्रत्यक्ष रूपमा २० लाख सहभागी माझ पुर्याई सम्पूर्ण सहभागीहरुको प्रतिवद्धता सहितको हस्ताक्षर र प्रतिक्रिया सङ्कलन गर्ने आयोजकको लक्ष्य रहेको थाहा भएको छ ।