साँस्कृतिक संस्थानको ५० औं वार्षिकोत्सव सम्पन्न, राष्ट्रपतिबाट चार संस्कृतिकर्मीलाई सम्मान


साँस्कृतिक संस्थानले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आइतबार विशेष कार्यक्रम आयोजना गरी स्थापनाको ५०औं वार्षिकोत्सव मनाएको छ । असार ५ देखि ७ गतेसम्म चलेको सो स्वर्ण महोत्सव उद्घाटन विशेष समारोहमा सम्माननीय राष्ट्रपतिले लोकसंस्कृतिको संरक्षण तथा प्रवर्धनमा क्रियाशील साँस्कृतिक संस्थानलाई ५०औं वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिनुभयो ।

‘सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाले ५० वर्षको इतिहास बनाउनु गौरवको विषय हो l  ५० वर्षको इतिहास र अनुभव बोकेको साँस्कृतिक संस्थानले हाम्रा अमूल्य संस्कृति र सभ्यताको मूल्य एवं मान्यतालाई पुनर्स्थापित गर्न योगदान दिनेछ भन्ने विश्वास लिएको छु’ राष्ट्रपति भण्डारीले भन्नुभयो l

कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले ५० वर्षको इतिहास र अनुभवबाट सिकेर लोकसंस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रमका साथ संस्थान अघि बढ्ने बताए । ‘देश भनेको चार किल्लाभित्रको ढुंगा माटो मात्र होइन । देश चिनाउन भाषा, भेषभूषा, रहनसहन अनि लोकसंस्कृतिको उच्चतम विकास आवश्यक छ l मुलुकको लोकसाँस्कृतिक अवस्थाले त्यो देशको समृद्धि र सभ्यता झल्काउँछ । लोकसंस्कृति सुरक्षित र संरक्षित छैन भने त्यो राष्ट्र र राष्ट्रियता भरिलो एवं रसिलो हुन सक्दैन’ महाप्रबन्धक राईले भने l

स्वर्ण महोत्सवको अवसरमा संस्थानले नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दलाई ‘दीर्घ साधना सम्मान २०७९’, वरिष्ठ रङ्गकर्मी ओममणि शर्मालाई ‘राष्ट्रिय नाट्य पुरस्कार २०७९’, वरिष्ठ सङ्गीतकर्मी प्रेमदेव गिरीलाई ‘राष्ट्रिय सङ्गीत पुरस्कार २०७९’ र वरिष्ठ नृत्यकार सुरेश मिश्रलाई ‘राष्ट्रिय नृत्य पुरस्कार २०७९’ प्रदान गरेको छ । जनही ५१, ५१ हजार रुपैया सहितको सो सम्मान तथा पुरस्कार सम्माननीय राष्ट्रपतिको हातबाट प्रदान गरिएको हो । समारोहमा राष्ट्रपतिबाटै संस्थानमा कार्यरत वीरेन्द्र हमाल र सुस्मिता तामाङलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ पनि प्रदान गरिएको थियो ।

प्राज्ञ अशोक राईको सङ्गीत संयोजन, वीरेन्द्र हमालको नाट्य संयोजन र लोकराज राईको नृत्य संयोजन रहेको स्वर्ण महोत्सव विशेष सांस्कृतिक कार्यक्रमले देश झल्काएको छ । जसमा नेपाली वृन्दावन, विभिन्न समुदायमा निहित लोकनृत्यदेखि मुनामदन एवं कृष्ण लीलासम्म समेटिएको थियो । संस्थानले ‘५०औं वर्ष विशेष कार्यक्रम’ बनाई एक वर्षभरि विभिन्न कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने कुरा थाहा भएको छ ।