कुन्ती मोक्तान र शिला बहादुर मोक्तानलाई इनास अमेरिकाको विशेष सम्मान


वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ गीतकार, सङ्गीत संयोजक तथा सङ्गीतकार शिला बहादुर मोक्तानलाई इनास अमेरिकाले उहाँहरुको साङ्गीतिक योगदानको उच्च कदर स्वरूप मानार्थ सदस्यता प्रदान गर्दै विशेष सम्मान अर्पण गरेको छ ।  

उक्त अवसरमा इनास अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामा थिङले शिला बहादुर मोक्तान र कुन्ती मोक्तानलाई खादा लगाई सम्मानपत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो भने इनास जि. सि. आर. कृष्ण श्रेष्ठले दुबैलाई पुष्प गुच्छा प्रदान गर्नुभएको थियो । इनास अमेरिका राष्ट्रीय समितिका अध्यक्ष कन्हैया सिंह परियारले कुन्ती मोक्तान र शिला बहादुर मोक्तानलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।  नमस्ते इभेन्टको आयोजनामा सम्पन्न सो कार्यक्रममा एन. आर. एन. ए. मेरिलेण्ड च्याप्टर र इनास मेरिलेण्ड च्याप्टरले सहयोगीको भूमिका निभाएका थिए भने कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संयोजक राहुल के. सी., रमेश श्रेष्ठ र लक्ष्मण पौडेलको विशेष भूमिका रहेको थियो ।  

नेपाली समुदायको बाक्लो सहभागिता रहेको सो कार्यक्रममा स्थापित नेपाली कलाकारहरु रतन सुवेदी, दिनेश कार्की, सञ्जिप प्रधान, सरिष्मा अमात्य, अञ्जना गुरुङ, अनुसुया श्रेष्ठ वन्त, आभा मुकारुङ, याम क्षेत्री, कल्पना देबकोटा पौडेल, उदय भट्टराई, प्रवेश उप्रेती, मनिष शर्मा, श्याम गुरुङ लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।