२३ औं वार्षिकोत्सव एवं सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न

– तुलसी गिरी ‘भावुक’


चलचित्र पत्रकारहरुको पेशागत छाता सङ्गठन ‘चलचित्र पत्रकार सङ्घ, नेपाल’ ले विगतमा झैं आफ्ना सदस्यहरुलाई सम्मान र पुरस्कार वितरण गर्दै २३ औं वार्षिकोत्सव सम्पन्न गरेको छ l विगतमा हरेक वर्ष संस्थाको स्थापना भएको दिन जेठ ७ गते ‘चलचित्र पत्रकारिता दिवस’ तथा वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिँदै आएकोमा विषम परिस्थितिका कारण २०७७ र २०७८ मा वार्षिकोत्सव कार्यक्रम हुन नसकेकोले २०७९ सहित यसपटक एकैचोटी ३ बर्षको सम्मान तथा पुरस्कार वितरण गरिएको थियो l

शनिबार काठमाण्डौमा आयोजित २३ औं वार्षिकोत्सव समारोहमा सङ्घका संस्थापक महासचिव एवं लगातार २ कार्यकाल कुशलतापूर्वक अध्यक्षको जिम्मेवारी पूरा गरेका रङ्ग पत्रकार शान्तिप्रियलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’ बाट सम्मान गरिएको थियो भने उनीसँगै लामो समयदेखि रङ्ग पत्रकारितामा निरन्तर क्रियाशील रहँदै आएका अर्का जुझारु रङ्ग पत्रकार राजन घिमिरे पनि सोही सम्मानबाट सम्मानित भएका थिए l यसैगरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर.डि. शृङ्खला (राजन दाहाल) लाई जनही नगद रू. २५ हजार सहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’ बाट सुव्रतराज आचार्य र निवर्तमान अध्यक्ष समेत रहेका रङ्ग पत्रकार सन्दिप सापकोटालाई सम्मानित गरियो भने ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट कुमार आचार्य र गीता अधिकारी जनही नगद रू. ५१ हजार सहित पुरस्कृत भएका थिए । संस्थाले २०७८ देखि पुरस्कारको राशी दोब्बर बढाएर रू. ५१ हजार पुर्याएको कुरा समारोहमा जानकारी गराईएको थियो l ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट मनोज न्यौपाने र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पोखराका रेम रसाइली पुरस्कृत भएका छन् । प्रोत्साहन पुरस्कारको राशी रू. २५ हजार रहेको थियो l

यसैगरी समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ २०७९’ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मानित गरियो भने ‘चलचित्र पत्रकारिता पुरस्कार २०७९’ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी  पुरस्कृत भएका थिए l २०७९ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ उद्धव रसाइलीले र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ मकवानपुरका श्रीराम अर्जुनले प्राप्त गरे ।

रात्रीभोज सहित भव्य रुपमा आयोजना गरिएको सो समारोहमा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए भने राजेश हमाल, भूवन के. सी., दिपाश्री निरौला लगायत सिने क्षेत्रका चर्चित एवं लोकप्रिय कलाकर्मी तथा सिनेमा र सङ्गीत क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो l कार्यक्रम सङ्घकी महिला उपाध्यक्ष दिपज्योति थापाले सञ्चालन गरेकी थिईन् l