शिशिर योगीको वैदिक मन्त्र गायनको भिडिओ सार्वजनिक


पछिल्लो समय मेलोडी सुल्तानको उपनाम पाएका लोकप्रिय गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम अघि बढाएका छन् । राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आएका शिशिरले भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी आवाजको जादु पस्केका छन् ।

प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिने छ । भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ । त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ । हाम्रोमा भने कर्मकाण्डी र कामचलाउ जस्तो मात्र बनेको भक्ति सङगीतमा शिशिरको प्रवेशले यसका पारखीलाई केही राहत दिने निश्चित छ ।

भक्तिसङ्गीतको यस चरणमा गणेश मन्त्र, गायत्री मन्त्र, शनि मन्त्र र शनिको बीज मन्त्र गरी चारओटा तयार भएका छन् । उच्चकोटिको सङ्गीत, खारिएको आवाज र श्रुतिमधुर शब्दले श्रोतालाई आनन्दको सागरमा डुबाउँछन् । शिशिर यी सबै मन्त्रमा एक किसिमको जादू भर्न सफल भएका छन् । गणेश मन्त्रमा मौलिक सङ्गीतको स्वरूप छ । हुन त हामीले ‘ॐ गं गणपतेय नमो नम:लाई भारतीय कलाकारको आवाजमा धेरै पल्ट सुनिसकेका छौं । शिशिरले यसमा हृदयको आवाज निकालेर नेपाली मिठास भरेर गाउने कोसिस गरी हृदयस्पर्शी गायन प्रदर्शन गरेका छन् । करुणरसको प्रयोगले यसमा थप स्वाद दिएको छ ।

‘निलांजन समाभासम्..’ बोलको शनि मन्त्रमा भक्ति र करुण सरको संयोजन भएको छ । शनिको बीज मन्त्रमा भने भक्ति, करुण र वीर रसको त्रिवेणी पाइन्छ । साथै गायत्री मन्त्रलाई पनि निकै मिहिनेत गरेर सुललित आवजमा पस्किएका छन् उनले । सबै मन्त्रमा शिशिरले सङ्गीत भरेका छन् भने उनलाई आवाजमा सलिना बिक र उनकै सुपुत्री श्रुति योगीले साथ दिएका छन् । यी मन्त्रमा सङ्गीत संयोजनमा पनि बढी मिहिनेत गरेको देखिन्छ । नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गरका छन् । ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् भने दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका छन् । रेकर्डिस्टका रुपमा अजय कार्की रहेका छन् ।

शिशिरको यसपालिको कर्म पृथक देखिन्छ । उनले तन, मन, बुद्धि र वर्कतको प्रयोग गरी नयाँ मार्गमा लाग्न ठूलो परिश्रम गरेका छन् । यसका लागि शिशिर बधाईका पात्र छन् । यी मन्त्रहरू शिशिर योगीको अफिसियल युट्युब च्यानलबाट २०७९ जेठ ३१ गते मङ्गलबार बिहान ठिक ८ बजे गणेश स्तुतिबाट सुरु भई क्रमशः प्रसारित हुँदै जाने छन् ।