५ हजार १ सय ५ मिटरको उचाईमा छायाङ्कन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक


१ सय ८ विश्व कीर्तिमानी गीतकार डा. डी. आर. उपाध्यायको तिलिचो हिमालको काखमा छायाङ्कन गरिएको गीतको भिडिओ ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच ५ हजार १ सय ५ मिटरको उचाईमा तिलिचो हिमालको काखमा छायाङ्कन गरिएको गीतको भिडिओ सार्वजनिक भएको हो ।

पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडिओ सार्वजनिक गरिएको हो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडिओ छायाङ्कन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

गीतमा भेषप्रसाद श्रेष्ठको सङ्गीत, सागर अधिकारी ‘शरद’ को स्वर,  देवेन्द्र नेवाःको म्युजिक एरेञ्ज र कुमार के.सी.को माष्टरिङ रहेको छ । महेन्द्र चन्द ‘माइकल’ को निर्देशन रहेको सो गीतको भिडिओमा पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाङ्कन, शिलन लम्सालको सम्पादन र अनिता ग्वाच्छाको श्रृङ्गार रहेको सो म्युजिक भिडिओ डी. आर. म्युजिक एण्ड क्रियशन मार्फत आजै सार्वजनिक गरिएको छ ।