एकतर्फी प्रेममा परेपछि ‘मायाको भिक्षा’ माग्दै रिता र राम


आम विषयवस्तुलाई पनि मौलिक शैलीमा, फरक चिन्तनका साथ प्रस्तुत गर्न सिद्धहस्त अग्रज गीतकार राजेन्द्र थापाको शब्दरचनामा रहेको गीत ‘मायाको भिक्षा’ को भिडिओ सार्वजनिक भएको छ l आशिष अविरलको सङ्गीतमा रहेको यस गीतमा रिता के. सी. र राम अवालेले स्वर दिएका छन् l ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको यस गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् l

स्याडोज क्रिएशनको पोष्ट प्रोडक्शनमा निर्माण भएको यो म्युजिक भिडिओ शुक्रबार गायिका रिता के.सी. को अफिसियल युट्युब च्यानल Rita K C Official बाट डिजिटल बजारमा आएको हो l भिडिओमा राम कुमार के.सी. को सिनेम्याटोग्राफी र हिम्मत चैसिरको सम्पादन रहेको छ l

गीतमा एकतर्फी प्रेम र त्यस परिस्थितिबाट उत्पन्न मानसिक अवस्थालाई फरक ढङ्गबाट प्रस्तुत गरिएको छ l एकतर्फी प्रेममा परेको प्रेमीले जोगीले झैं प्रेमको भिक्षा माग्ने अवस्था आएको कुरा गीतमा मजाकीया ढङ्गमा व्यक्त गरिएको छ l