रोशाको स्वरमा गहन भावको गीत ‘झोला’

-तुलसी गिरी ‘भावुक’


प्रथम सारेगमप लिटिल च्याम्स नेपालकी दोस्रो विजेता बाल गायिका रोशा फुयालको स्वरमा रहेको गहन भावको गीत ‘झोला’ को भिडिओ सार्वजनिक भएको छ l अत्यन्तै गहिरो मर्म बोकेको यस गीतले मानवीय जीवनवृत्तका यथार्थपरक भावहरुलाई समेटेको छ l गीतमा रचनाकार सुमन श्रापितले मान्छेको जिन्दगीलाई भारी बोक्ने एउटा झोलासँग तुलना गरेका छन् l बी. बी. अनुरागीको सङ्गीत रहेको यस गीतमा किरण विश्वकर्माको सङ्गीत संयोजन रहेको छ l

प्रिज्म डिजिटलका प्राविधिक कमल थापा र  डी. बी. लोहनीले संयुक्त रुपमा रेकर्ड गरेको यस गीतमा श्यामश्वेत रसाईलीको मिक्सिङ / माष्टरिङ रहेको छ भने भिडिओको छायाङ्कन / सम्पादन गोविन्द अनेक र ताराकान्त बि. क. ले गरेका हुन् l

मेचीनगर, झापा स्थाई बसोबास भएकी प्रतिभाशाली गायिका रोशा फुयालले १० बर्षको उमेरमा रमेश सङ्ग्रौलाको सङ्गीतमा पहिलोपटक गीत रेकर्ड गरेकी थिईन् भने केहीदिन अघि मात्र गीत रेकर्डकै सिलसिला बनाएर झापाबाट काठमाण्डौ आएकी उनले ६ वटा गीत रेकर्ड गरेकी छिन् l जसमध्ये ‘मलाई विर्स नभनिदेऊ’ बोलको गीत केहीदिन अघि रिलिज भएको थियो भने ‘झोला’ आजै रिलिज भएको हो l

प्राप्त जानकारी अनुसार यसपटकको काठमाण्डौ यात्रामा रोशाले नवीन कार्कीको सङ्गीतमा ३ वटा, बी. बी. अनुरागी, राजेश थापा र सुनिल राईको सङ्गीतमा एक एकवटा गरी ६ वटा गीत रेकर्ड गरेकी छिन् l जसमा दिनेशराज पुरी, सुमन श्रापित, डा. चन्द्र गिरी र दधि सुवेदीको रचना रहेका छन् l