चलचित्रकर्मी खरेल ‘गोरखा पोलब्रेकर्स सङ्घ’ को केन्द्रीय समितिमा मनोनित

‘गोरखा पोलब्रेकर्स सङ्घ नेपाल’ को केन्द्रीय सदस्यमा चलचित्र निर्देशक माधवराज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रीय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिएपछि तत्काल सङ्घले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रीय खरेल यसअघि ‘गोरखा पोलब्रेकर्स क्लव’ मा समेत आवद्ध रहेका थिए । पछि क्लबले राष्ट्रिय खेलकुद परिषद्वाट सङ्घको मान्यता पाएपछि ‘गोरखा पोलब्रेकर्स सङ्घ नेपाल’ को रुपमा रुपान्तरित भएको हो । खरेल र कार्कीलाई सङ्घको विशेष बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको कुरा अध्यक्ष उद्धव नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

मनोनय गरिएका खरेल र कार्कीले सङ्घको हितमा काम गर्ने र यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा सङ्घ विश्वस्त रहेको कुरा सङ्घका अध्यक्ष उद्धव नारायण श्रेष्ठले बताएका छन् ।