हरितारा चलचित्र तथा परिवर्तन पुरस्कार / सम्मान पाउनेहरुको नाम सार्वजनिक  


‘परिवर्तन नेपाल’ ले प्रेस विज्ञप्ति प्रकाशित गरी हरितारा चलचित्र पुरस्कार, परिवर्तन नेपाल दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, परिवर्तन नेपाल विशेष सम्मान, परिवर्तन सम्मान, परिवर्तन चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन पत्रकारिता विशेष सम्मान पाउनेहरुको नामावली सार्वजनिक गरेको छ l आज प्रकाशित परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष तथा  हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत सो कुरा जानकारी गराईएको हो l

‘हरितारा चलचित्र पुरस्कार’का संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बैशाख ९ गते बसेको बैठकले २०७७ सालको ‘हरितारा चलचित्र पुरस्कार’ विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । सोही बैठकले २०७८ सालको ‘हरितारा चलचित्र पुरस्कार’ वरिष्ठ रङ्ग पत्रकार विदुर गिरीलाई अर्पण गर्ने पनि निर्णय गरेको थाहा भएको  छ ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि समशेरको नाममा अक्षय कोष राखी स्थापना गर्नुभएको ‘हरितारा चलचित्र पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो । ४ दशक भन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रङ्गमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्याउन महत्वपूर्ण योगदान गरे बापत वि.सं. २०७७ सालको पुरस्कार अभिनेत्री मिथिला शर्मालाई र ३ दशक भन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला, संस्कृति, चलचित्र क्षेत्रको प्रवर्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पुर्याएको योगदानका लागि सञ्चारकर्मी विदुर गिरीलाई ०७८ सालको ह’रितारा चलचित्र पुरस्कार’ अर्पण गर्न लागिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरस्कारको थैली जनही रू. २५ – २५ हजार रहेको छ ।

यसैगरी बैशाख ९ गते बसेको ‘परिवर्तन नेपाल’को बैठकले वि.सं २०७७ र २०७८ सालको ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज के.सी.लाई अर्पण गर्ने निर्णय गरेको छ । ‘श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार’को थैली जनही रू. १० – १० हजार रहेको छ ।

परिवर्तन नेपालको सोही वैठकले चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याएका निर्देशक मदन घिमिरे, निर्माता/निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक/ निर्माता मौनता श्रेष्ठ र अभिनेता राजकुमार शाहलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ अर्पण गर्ने र प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आवद्ध भई आ-आफ्नो क्षेत्रमा योगदान पुर्याएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी), निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा वि.सी., खेलाडी/कलाकार नन्दा बस्याल, रङ्गकर्मी मञ्जु निरौला, रङ्गकर्मी रजनी अर्याल र  रङ्गकर्मी रेणु पौडेललाई ‘परिवर्तन सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ ।

यसैगरी बैशाख १० गते बसेको ‘परिवर्तन नेपाल’को बैठकले गीतकार/लेखक/निर्देशक तथा संस्कृतिविद स्वः चेतन कार्कीको स्मृतिमा समेत पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । स्थापना वर्षको पुरस्कार लेखक / निर्देशक / अभिनेता देशभक्त खनाललाई अर्पण गर्ने समेत बैठकले निर्णय गरेको छ । खनाललाई रू. ११ हजार १ सय ११ को थैली सहित पुरस्कृत गरिने छ l

सोही बैठकले ‘परिवर्तन पत्रकारिता विशेष सम्मान’ सञ्चारकर्मी दिनेश सिटौलालाई अर्पण गर्ने समेत निर्णय गरेको छ । पुरस्कार तथा सम्मानको सिफारिस संस्थाका केन्द्रीय अध्यक्ष मोहन निरौला, वरिष्ठ गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र वरिष्ठ सञ्चारकर्मी/गीतकार शान्तिप्रिय रहेको समितिले गरेको हो । यसअघि ‘हरितारा चलचित्र पुरस्कार’ मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, सुनिल थापा, दिनेश डी.सी., करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा, कृष्ण मल्ल, मदनदाश श्रेष्ठ आदिलाई अर्पण गरिसकिएको छ भने ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ उत्तम के.सी., सुभाष गजुरेल, सपना श्रेष्ठ आदिलाई अर्पण गरिएको थियो । पुरस्कार र सम्मान जेठको दोश्रो हप्ता एउटा विशेष समारोहको आयोजना गरि अर्पण गरिने कुरा थाहा भएको छ ।

SUBSCRIBE 👉