‘राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९’ सम्पन्न


नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित ‘राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम-२०७९’ सम्पन्न भएको छ । काजोल म्युजिक प्रा. लि. द्वारा आयोजित यस कार्यक्रममा नन्दा बस्यालको सभापतित्व रहेको थियो भने सामाजिक बिकाश मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

सातवटै प्रदेशका मौलिक नृत्यहरु प्रस्तुत गरिएको यस समारोहमा वरिष्ठ कलाकार सरोज खनाल, वरिष्ठ गायक एवं निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका केन्द्रीय सचिव कृष्ण रेउले, प्रतिष्ठानका केन्द्रीय सदस्य उत्तम शर्मा, नृत्याङ्गना सम्झना बुढाथोकी, वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली लगायत कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

समारोहमा विगत ४ दशक भन्दा अघिदेखि  नृत्य विधामा योग्दान पुर्‍याउनुका साथै नृत्य प्रशिक्षण समेत गर्दै आईरहेको भन्दै कुलमान नेपालीलाई र विगत २ दशक भन्दा बढी समयदेखि नृत्य बिधामा योगदान पुर्‍याएको भन्दै सम्झना बुढाथोकीलाई विशेष सम्मान गरिएको थियो । साथै कार्यक्रमको सफलताका लागि आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने व्यक्ति, प्रायोजक, कलाकार लगायत पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम मञ्जु पौडेलले सञ्चालन गरेकी थिइन् भने शिव सङ्गीतले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा मिडिया संयोजकको भूमिका पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ ले निर्वाह गरेका थिए ।