गौतम बुद्धको जीवनी र दर्शनमा आधारित ‘बुद्ध थिएटर फेस्टिवल’ सम्पन्न


गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत विश्वमाझ पुर्‍याउने उद्देश्यका साथ आयोजित ‘बुद्ध थिएटर फेस्टिवल २०२२’ सम्पन्न भएको छ । संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा सम्पन्न भएको महोत्सवको यो दोस्रो संस्करण हो ।

महोत्सव समापन समारोहमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भगवान गौतम बुद्धको जीवन दर्शनलाई आत्मसात् गर्नेहरूको संख्या संसारमा धेरै भएकाले नेपालको पर्यटन विकास र बुद्ध नेपालमा जन्मेको हो भन्ने सत्य स्थापित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘बुद्ध थिएटर फेस्टिवल नेपालमा आयोजना हुनु गौरवको विषय हो । नेपालको पहिचानसँग जोडिएको यो महोत्सव अझ भव्य रूपमा आयोजना गर्न बागमती प्रदेश सरकारको साथ र सहयोग रहनेछ’ मन्त्री श्रेष्ठले भने  ।

एक सातासम्म चलेको सो महोत्सवमा शारदा शर्माको उपन्यास ‘ताप’माथि पुष्कर गुरुङको परिकल्पना तथा निर्देशनमा नाटक ‘ताप’, पार्वती ज्ञवालीको लेखनमा वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा नाटक ‘तथागत बिज’ र अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा नाटक ‘बुद्ध र भिखारी’ मञ्चन गरिएको थियो । ‘बुद्ध थिएटर फेस्टिवलले उठान गरेका विषय रंगकर्ममात्र नभएर नेपालको राष्ट्रिय पहिचान र पर्यटन विकाससँग पनि जोडिएको छ । महोत्सवप्रति रंगकर्मी तथा दर्शकको उत्साहपूर्ण सहभागिताले हामीलाई अझ हौसला मिलेको छ’ सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले भने ।

फेस्टिवल डाइरेक्टर पुष्कर गुरुङले यस महोत्सवमा मञ्चन भएका नाटकमा नेपाली माटोको सुवास आएको बताए । ‘संसारले बुद्धलाई कसरी चिन्छन्, कसरी बुझ्छन् भन्ने कुरा रंगमञ्चमा प्रस्तुत गर्न महोत्सव आयोजना गरिएको हो । महोत्सवको आगामी संस्करण विभिन्न मुलुकको सहभागिता सहित अझ भव्य रूपमा आयोजना हुनेछ’ गुरुङले भने । गत वर्षदेखि सुरु भएको महोत्सवको यो दोस्रो संस्करण हो । नाटक हेर्न देश विदेशका दर्शकहरुको  उलेख्य उपस्थिति रहेको थियो ।