५ हजार १ सय ६ मिटर उचाईमा उपन्यास ‘भाइरस लभ’को लोकार्पण



विश्वकीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएको छ । उपन्यास ‘भाइरस लभ’ नयाँ वर्षको दिन वैशाख १ मा तिलिचो तालसँगैको हिमालको ५ हजार १ सय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो । पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, छायाकार उत्सव दाहाल, सुबिन गोदार, मेकअप आर्टिष्ट अनिता ग्वाछा, ध्वनि सम्पादक कुमार केसी र फ्रान्सेली नागरिक क्यामिला लगायतले सो उपन्यासको संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

१ सय ९२ पेजको सो उपन्यास चालिस भागमा विभाजन गरिएको छ । विमोचनको संक्षिप्त कार्यक्रममा उतिथिहरूले उपन्यासका बारेमा आ-आफ्ना भनाइहरु राखेका थिए भने स्रष्टा उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । यो उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्यायले जानकारी गराएका छन् । शिखा बुकले प्रकाशन गरेको १ सय ९२ पेजको यस उपन्यासको मूल्य रू. ३ सय ७५ राखिएको छ ।

डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । यस्तै उपाध्यायका  ३३ गीति एल्बमका सायौं गीत र भिडिओ पनि दर्शकमाझ आएका छन् । डा. उपाध्यायले गीत सङ्गीत तथा विविध विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १०८ विश्व कीर्तिमान कायम गरेका छन् ।