दशौँ कृति ‘अर्ध शतक’ लिएर आए कवि देवकोटा

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध कवि एवं गीतकार चूडामणि देवकोटाको कवितासङ्ग्रह ‘अर्ध शतक’ को लोकार्पण भएको छ l सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कवि देवकोटाको सो कृतिको लोकार्पण गरिएको हो l कार्यक्रम डा. भोजराज घिमिरेको सभापतित्व एवं प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l पुस्तकमा विविध भावका ५० कविता रहेका छन् l

समारोहमा प्रा. महेश पौडेलले पुस्तकको गहन समालोचना गरेका थिए भने पुस्तकका सम्पादक प्रा. महेश प्रसाईंले पनि कवि देवकोटा र पुस्तकमा समावेश भएका कविताहरुको बारेमा आफ्नो विचार राखेका थिए l यसैगरी पुस्तक प्रकाशन गर्ने संस्था शिखा बुक्सका प्रोप्राइटर पुष्पराज पौडेलले प्रकाशकीय मन्तब्य व्यक्त गरेका थिए l कार्यक्रममा अग्रज साहित्यकारहरु डा. विमल कोईराला, यादव खरेल, दधिराज सुवेदी, डा. डी. आर. उपाध्याय, गीतकार एवं नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार विसु कुमार के. सी. लगायत साहित्यिक क्षेत्रका दर्जनौं विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l

गीतकार सङ्कघ नेपालका पूर्व अध्यक्ष कवि चूडामणि देवकोटाको जन्म गोरखा जिल्लाको फुजेलमा २०११ साल जेठ १६ गते भएको थियो l वेलायतबाट एम्. पी. ए. अध्ययन पूरा गरेका देवकोटाको यसअघि ‘मनका हरफ’ शीर्षकको गीतसङ्ग्रह प्रकाशन भएको थियो भने ‘धरती र धुन’, ‘भूगोल र भावना’, ‘माटो र मुटु’, स्वदेश र सपना’, ‘,मेरो देश मेरो गीत’, ‘स्पन्दन’ र ‘सपनीमा’ गीति एल्बम पनि बजारमा आईसकेका छन् l राष्ट्रिय भावका गीत लेख्न औधी मन पराउने कवि एवं गीतकार देवकोटाको ‘अर्ध शतक’ १० औं साहित्यिक कृति हो l